Friday, June 22, 2018

रजनीसाइटिस - एक निको नहुने रोग


प्रसिद्ध कवि तथा अमिताभ बच्चनका पिता हरिबंश राय बच्चनले आफ्नो जन्मदिनको अवसरमा भनेका थिए, 'म ७३ औं बर्षमा प्रवेश गरें । उमेरका कारण अनेक रोग लागेका छन तर यी रोगहरुमध्ये भयानक रोग हो - रजनीसाइटिस, जसबाट छुटकारा पाउन सजिलो छैन। यस रोगका लक्षणहरु हुन; सधैं आनन्दित र उत्साहित रहनु, जिवनलाई अति गम्भिरताले नलिई नाटकको रुपमा हेर्नू र अतिशय भौतिक महत्वकांक्षाबाट मुक्त रहनु, समाजले संकोच गरेका विषयमा पनि स्पष्ट र निर्भिक हुनु , भविष्यको सुखको लागि संचय गर्नु सट्टा बर्तमानलाई नै सुखपुर्बक जिउनु ।'

  लेखक खुसवन्त सिंहले आफ्नो संस्मरणमा लेखेका छन 'मैले हजारौं ओशो सन्यासिहरुलाई भेटेँ तर आजसम्म कसैलाई उदास, दु:खी र मुख बिगारेर बसेको देखेको छैन । सबैलाई प्रफुल्लित पाएको छु । यहाँसम्म कि मृत्युमा पनि उनिहरु उत्सब मनाउँछन । पहिला मलाई लाग्थ्यो - कतै यो सबै बनावटी त होइन ? तर उनिहरुलाई नजिकबाट लियालेर हेर्दा पाएँ कि यो रजनीसाइटिस रोगको मुख्य लक्षण नै रहेछ ।' जिवनको उत्तरार्द्धमा उनी स्वयं नै यस रोगबाट ग्रसित हुन पुगे ।

  ओशो रजनिश शरिरमा रहुन्जेल उनलाई बुझ्ने सबैभन्दा पहिलो तप्का कवि, कलाकार र लेखकको थियो । जब विश्वभरिका धार्मिक यथास्थितिवादिहरुले उनको बिरोध गरिरहेका थिए, यो प्रतिभावान, बिद्रोहीको समूह उनको वकालत गरिरहेको थियो ।

  सन्त त धेरै भएका छन तर ओशो जस्तो बहुआयामिक रहस्यदर्शी अरु कोहि भएनन । हुन त सबै सच्चा सन्तले रुढिग्रस्त समाजको बिरोध केही न केही हदमा सहनु परेकै हुन्छ । तर ओशोले जस्तो विश्वब्यापी बिरोध बिरलै कसैले झेलेको होला । यति सम्म कि अनेक बिकसित राष्ट्रले पनि उनी यात्रा गरेको जहाजलाई तेल भर्नका लागि अवतरणको अनुमती दिन डराउँथे । यस्तो कुनै पनि बिषय भएन जसमा ओशोको मौलिक बिचारले तहल्का मचाइदिएको नहोस तर नग्न सत्य बोल्नु उनको अक्षम्य अपराध मानियो । जडग्रस्त मनस्थितिकाहरुले जति उनको बिरोध गर्छन, प्रतिभाशाली ब्यक्तिहरुले मुक्तकण्ठले त्यतिकै प्रशंसा गर्छन । प्रसिद्ध कवयित्री अम्रीता प्रीतमले राज्यसभामा दिएको यो अभिब्यक्ती म यहाँ राख्न चाहन्छु, 'केही व्यक्तिहरु हुन्छन जो चिन्तन, कला र बिज्ञानकाे क्षेत्रमा प्रतिभाशाली हुन्छन र यसै कारणले उनिहरुलाई समाजले सम्मानित पनि गर्छ तर ओशो एक यस्ता व्यक्ती हुन जसबाट यो देशै सम्मानित भएको छ, विश्व नै सम्मानित भएको छ ।' ओशो रजनिशकै 'जोरबा दि बुद्ध' दर्शनबाट प्रभावित भएर उनले 'मन मिर्जा तन साहिबा' भन्ने प्रसिद्ध पुस्तक सिर्जना गरिन ।

  ओशो अतितको कुनै धार्मिक शृंखलाका कडि होइनन, बुद्धत्वको प्रवाहमा उनी एक नौलो प्रारम्भ हुन । ओशो संग एक नयाँ युगको आरम्भ हुन्छ । उनको समयलाई दुई खण्डमा बिभाजित गरेका छन - ओशोपुर्व र ओशोपश्चात । भारतका प्रसिद्ध गायक हरिओम शरणले भनेका छन, 'ओशो यस युगका एकमात्र महानतम ऋषि र युगप्रवर्तक हुन । उनको श्वासप्रश्वासमा, उठाइबसाइमा , हिँडाइमा धर्म नै धर्म छ । उनी समग्ररुपेण धर्मपुरुष हुन ।'

  रजनिशपुरममा प्रवासको बेला भएको एउटा घटनाले मेरो हृदयलाई गहिरो छोएको छ । रजनिशपुरम अमेरिकाको एकान्त मरुभुमिमा अवस्थित २८२ बर्ग कि.मि.मा फैलिएको आफैमा पुर्ण एक स्वप्ननगरी थियो, जसको अमेरिकी बिधानानुसार आफ्नै नगरपालिका, विश्वविद्यालय, एयरपोर्ट र आफ्नै एयरलाइन्स थियो । सन १९८५ को कुरा हो । जुलाईमा गुरुपुर्णिमा महोत्सबको बेला विश्वका करिब २० हजार ओशो सन्यासी भेला भएका थिए र सात दिनसम्म चल्ने महोत्सबमा एक उत्सब, आनन्द र उत्साहको आध्यात्मिक माहौल थियो । त्यसबेला सयौं अमेरिकि आएर ओशो दर्शनमा दिक्षित भैरहेका थिए । उनिहरु मध्ये अधिकांश समाजका प्रतिष्ठित डाक्टर, ईन्जिनियर, हलिउडका कलाकारहरु थिए । अमेरिकि चर्चलाई भ्रम भयो कि ओशोले इसाई धर्मलाई अमेरिकामा सिध्याउनेछन । उनिहरुले सो कम्युन तोड्न र ओशो रजनिशलाई दु:ख दिन अमेरिकी प्रशासनसंग मिलि अनेक षडयन्त्र रचे । त्यसैको एक कडिको रुपमा एक बूढो पादरिलाई यस महोत्सबमा पठाइयो । ती पादरिसंग रजनिशबिरोधी चर्चद्वारा प्रकाशित एक पुस्तिका थियो जसमा बाइबलमा उल्लेखित 'सैतानले पठाएको एन्टि क्राइस्ट रजनिश नै हुन - उनले इसाई धर्मलाई ठूलो हानी पुर्याउनेछन' भनी लेखिएको थियो । ती पादरी सबैलाई त्यो पुस्तिका सित्तैमा बाँड्दै हिँड्थे । उनको त्यो कृयाकलापलाई कसैले गम्भिरतापुर्वक नलिएपछी उनी अझ आक्रोशित भए । ओशो त्यसताका दिउँसो कारमा घुम्न निस्किन्थे । गुरुपुर्णिमाको त्यो दिन संगित, नृत्य र भक्तिको माहौलले रंगिएको थियो । अचानक ती पादरी ओशोको गाडी अगाडि आई बाटो छेकी बर्बराउन थाले, 'तिमि सैतानले पठाएका दुत हौ, युवालाई भ्रष्ट गर्दैछौ, तुरुन्तै अमेरिका छोड, अमेरिकाले तिमिलाई घृणा गर्छ' ईत्यादी । जब स्वयंसेवकहरुले उनलाई हटाउन खोजे, ओशोले उनिहरुलाई रोकि भने, 'उनलाई पहिला आफ्ना कुरा भन्न देऊ ।' पादरिले बोलिसकेपछी ओशोले सोधे, 'तपाईलाई अरु केही भन्नू छ कि ? भनाई सकियो भने मलाई जान दिनुस ।' त्यसपछि उनलाई किनारा लगाइयो । सामान्यत: सबै शिष्य केहिकेही मात्रामा फेनेटिक हुन्छन । त्यहाँ पनि आफ्ना गुरुलाई गरेको अपमान देखेर शिष्यहरु रिसाइसकेका थिए । त्यो अनुभव गरि ओशोले भने, 'उनी एक बृद्ध ब्यक्ती हुन । आफ्नो समझानुसार धार्मिकै काम गरिरहेका छन । म व्यक्तिको मौलिक स्वतन्त्रताको पक्षपाती हुँ । उनलाई आफुलाई लागेको कुरा भन्ने पुर्ण स्वतन्त्रता छ । उनको त्यो मौलिक स्वतन्त्रताको रजनिशपुरममा आदर भएन भने अरु कहाँ हुन्सक्छ ? त्यसकारण कसैले उनलाई दुर्ब्यवहार नगरोस । यहाँ उनिप्रती अनादर भयो भने त्यसलाई म आफ्नो दर्शनकै पराजयको रुपमा लिनेछु । उनी यहाँ रहन चाहे भने पुर्ण स्वतन्त्रता र आदरसाथ बस्ने ब्यवस्था होस ।' यो सुनी सबै शिष्य संयमित भए र मेरो आँखामा झरझर आँसु आयो । मलाई पुन: आत्मगौरब भयो कि मैले सहि गुरु छानेछु ।

( स्वामी आनन्द अरुणद्वारा लिखित पुस्तक 'अन्तर्यात्रा'को केही अंश )

  

जोगीको अन्तर्दृष्टी



सन ७८ को त्यो अविस्मरणिय प्रथम भेटपछी इन्दिरादेविबाट मैले असिम प्रेम पाएँ । जबजब म पुना जान्थेँ, उहाँको सत्सङ्गमा पनि समय बिताउथेँ । आफ्ना शिष्यबाहेक अरुलाई भेट्न मन नपराउने भए पनि ममाथी उहाँको विशेष कृपा रह्यो । बिरामी भएका बेला पनि दर्शन दिनुहुन्थ्यो । ओशोप्रती वहाँको गहन आस्था थियो तर त्यो सबैका अगाडि ब्यक्त गर्नुहुन्नथ्यो । दिलिपकुमार रायराय, मदर र श्री अरविन्दोका प्रती उहाँको अगाध आस्था थियो । मैले दिलिपकुमार रायलाइ भेट्न नपाएकोमा उहाँ बराबर मलाई भन्ने गर्नुहुन्थ्यो, ' यु मिस्ड अ वन्डरफुल सोल ।' एकपटक उहाँलाइ मैले काठमाडौं आउन आमन्त्रण गरें । ताहाचलको आश्रम साधारण भएकोले उहाँलाइ सुविधासंग राख्न सक्दिन कि भनी संकोच पनि व्यक्त गरें । उहाँले भन्नुभयो, 'आई विल कम टु काठमाडौं जस्ट फर यु । आइ विल नट स्टे एनिव्हेर अदरदेन इन योर होम ।' जब मैले पोन्डिचरी आश्रम हेर्न जाने कुरा गरें, उहाँले भन्नुभयो, 'यु मस्ट गो एन्ड मिट ओल्ड इन्टिमेट्स, हु ह्याभ लिभ्ड विथ अरबिन्द । दे आर ब्युटिफुल पिपल ।'

  पोन्डिचरिको विशाल पुस्तकालयमा मैले दिलिपकुमार राय र इन्दिरादेविका एउटै पनि पुस्तक भेटिन । यसको बारेमा मैले त्यहाँ सोध्दा 'हामी उहाँहरुलाई मान्यता पनि दिँदैनौं । उहाँहरुको यहाँ कुरा नगर्नुस' भन्नेजस्ता रुखा जवाफ पाएँ । औरोभिलको परिकल्पनाले म अत्यन्त प्रभावित छु । तपोबनको सृजनमा त्यसबाट पाएको प्रेरणाको योगदान छ तर औरोभिलको निर्माण अति मन्द गतिमा छ र त्यहाँ एक प्रकारको आध्यात्मिक न्यानोपनको अभाव छ । यी गुनासाहरु मैले इन्दिरादेविका सामु राखें, 'तपाईजस्तो अरबिन्दलाइ प्रेम गर्ने र अध्यात्मको उच्चावस्थामा रहेको ब्यक्ती औरोभिलको सपनालाई साकार गर्न लाग्नुपर्नेमा किन एकान्तमा बस्नुभएको छ ?' उहाँले मलाई रहस्यमय दृष्टिले हेर्दै भन्नुभयो, 'अभी आपके गुरु जिवित है, मेरी बातें आप नहि सम्झेंगे । जब आपके गुरु शरीर छोड देंगे तब आप खुदबखुद समझ जाएंगे ।'

  ओशोले शरीर छोडिसकेपछी जब उहाँप्रती पुर्ण समर्पित र उहाँको कार्यलाई संसारभरि फैलाउन उत्साहित म लगायत नेकानेक अन्तरंग शिष्यको एकएक गरि पुनाआश्रममा प्रवेश बर्जित भयो र आश्रमको संचालन रक्सी खाएर टिल्ल परिरहने धुर्तहरुको हातमा पर्न गयो जसले ओशोतिर्थलाई रिसोर्ट र क्लब बनाइदिए । यिनै प्रपन्चिहरुले आश्रमभित्र ओशोको तस्वीर राख्न र उहाँको जन्मदिवस मनाउन मनाही गरे । इन्दिरादेविले भन्न खोजेको बल्ल बुझें । जोगिहरुसंग गजबको अन्तर्दृष्टी हुँदोरहेछ ।

  कुनै पनि गुरुको आश्रम केही व्यक्तिको त्याग, तपस्या र लगनले बन्दोरहेछ । त्यही तपस्याको बलमा पछि आश्रममा सुबिधा र बैभव बढ्दै जान्छ । पछि त्यसैको लोभमा सुविधाभोगी त्यहाँ जुट्न थाल्छन र उनिहरुकै प्रपन्चले सबै त्यागी र तपस्वी त्यहाँबाट बिस्तारै लखेटिन्छन किनभने साधकहरु प्रपन्च गर्न सक्दैनन र प्रपन्च गरि त्यहाँ टिक्नुसट्टा बरु एकान्तै दु:ख गरि साधना गर्न चाहन्छन । गुरुले शरीर त्यागिसकेपछी अधिकांश आश्रमको यस्तै कथाव्यथा मैले अनुभव गरेको छु ।

  सबै गुरुले समयसमयमा आफ्ना शिष्यको समर्पण र त्यागको कठिन परीक्षा लिन्छन । म पनि यस्तो परिक्षाबाट गुज्रेको छु । सन ७८ देखि ८१ को अवधिमा पुनाआश्रममा बस्दा मैले जानेको सिपका अनेक सुविधाजनक कामहरु हुँदा पनि मलाई सधैं कुचिकार, भाँडा धुने, बाथरुम सफा गर्ने र लुगा धुने कार्यमा मात्र लगाइन्थ्यो, जुन मेरो मानसिक र शारिरिक बनोटका लागि कठिन थियो । म संग पैसा पनि सिद्धिएको थियो र आश्रमले मलाई फुडपास पनि दिंदैनथ्यो । दश घण्टा श्रम गरेर पनि सामुहिक आवासमा बसेको र आफुले खाएको पैसा मैले तिर्नुपर्थ्यो । गुरु मलाई भेट पनि दिनुहुंदैनथ्यो र मेरा लागि हरेक प्रकारले कठोर र निर्दयी देखिनुहुन्थ्यो । आर्थिक, शारिरिक, मानसिक र भावानात्मक यी चारै प्रकारका असह्य कष्टले म सान्त्वना खोज्न इन्दिरादेविको शरणमा पुगें । भित्रभित्र यस्तो इच्छा थियो की यदि उहाँको आश्रममा मैले बस्ने एउटा कोठामात्र पाए पनि ठूलो राहत हुन्थ्यो । उहाँबाट पाएको बात्सल्यले गर्दा यस्तो अपेक्षा गर्नु स्वाभाविकै थियो । त्यो दिन पहिलोचोटि मैले इन्दिरादेविलाई आफुप्रती कठोर पाएँ । उहाँले मलाई झपार्दै भन्नुभयो, 'साधना इज नट विन्डो सपिङ्ग । कुछ इस दुकान से खरिद लिया कुछ उस दुकान से । आपका जिवनमरण जो भी हो आपके गुरु के चरण में ही होना चाहिए । अतिशय करुणा और शिष्य की विशिष्ट संभावनाओं के कारण कभी-कभी गुरु को बहुत कठोर होना पडता है । यह सब आप के महान कल्याण के लिए ही आयोजित है ।' २५ बर्षको अन्तरालपछी आज म उहाँको त्यो अभिव्यक्ती र ओशोको करुणाको मर्म राम्ररी बुझ्दैछु ।

  जब अचानक ओशोले शरीर छोडिदिनुभयो, म एक अभिभावक गुमाएको व्याकुल बच्चाजस्तो भएर इन्दिरादेविको चरणमा पुगें र मैले बिन्ती गरें, 'अब मैले कसको निर्देशनमा काम गर्ने ? गुरुले सधैं मेरो अहंकारको काँटछांँट गरिराख्नुहुन्थ्यो । अब मेरो अहंकारलाई कसले गलाउँछ ?' इन्दिरादेविले आत्मविश्वासका साथ भन्नुभयो, 'आप नेपाल जाएं, आपके गुरु आपसे पहले ही वहां पहुंचे हुए मिलेंगे । आपके साधना कि जिम्मेवारी उनकी है और उसकी वह अच्छी व्यवस्था करना जानते है । भविष्य में आपको माध्यम के तरह उपयोग कर आपसे बहुत बडा कार्य करनेवाले है ।' ओशोले शरीर छोडेको दुई महिना भित्रै ओशो तपोवनको स्थापना भयो जो एक अन्तराष्ट्रीय साधनास्थलीका रुपमा प्रतिष्ठित हुँदै गएको छ ।

( स्वामी आनन्द अरुणद्वारा लिखित पुस्तक 'अन्तर्यात्रा' को केही अंश )

Tuesday, June 19, 2018

बिस्मृत प्रेमको पुन: स्मृती


-स्वामी आनन्द अरुण

बाल्यकालदेखि नै मलाई स्वामी विवेकानन्दको तेज, बुद्धको शान्ति, गान्धीको सादगी, अहिंसा र त्यागले अति प्रभावित गर्थ्यो। यिनै मेरा आराध्य थिए र तिनको तस्बिर म जहाँ बसे पनि कोठामा झुण्ड्याउँथेँ । म सानो छँदा नेपालमा बुद्ध धर्म फस्टाएको थिएन । पटना इन्जिनियरिङ कलेजमा पढ्दा एकचोटि बोधगया जाने तीव्र इच्छा अनायास मभित्र पैदा भयो । बोधगया त्यहाँबाट धेरै टाढा छैन । कस्मिरका एक सहपाठी जो अध्यात्ममा रूचि राख्थे, उनलाई लिएर म बोधगया पुगेँ । बोधगयाको परिवेशले एक अबुझ आनन्दको अनुभूति भयो । विशेषरूपले बोधीवृक्षको तल बस्दा यही रुखमुनि सिद्धार्थले बुद्धत्व प्राप्त गरेको स्मरण गर्दा आँङै सिरिङ्ङ हुन्थ्यो । त्यो वृक्षको समीप जानासाथ आँखा रसाउँथ्यो र रुखबाट खसेका पातहरूको स्पर्शले शरीरै रोमाञ्चित हुन्थ्यो ।

मेरा मित्र पनि ध्यानमा बस्थे । तर, मभित्र अनायस पैदा भइरहने आध्यात्मिक संवेग देखेर आश्चर्यचकित थिए । यो कुरा सन् १९६८ तिरको हो । त्यतिखेर बोधगया निर्जन थियो । त्यहाँ विकास भएको थिएन । बास बस्ने र खाने असुविधा थियो । त्यहाँको वातावरणले मभित्र अनायास अनेक भाव उत्पन्न हुन्थे र म रुन थाल्थेँ । त्यो ठाउँ मलाई ऐतिहासिक त लाग्यो नै, तर एक व्यक्ति कठिन तपस्यालाई पार गर्दै बुद्ध भई सबै दुःखबाट मुक्त भएको अवस्थाको साक्षी भएको त्यो वृक्षले मेरो मुमुक्षु हृदयलाई भित्रबाट आन्दोलित गरिरहेको थियो । असंख्य विचारका लहर शान्त भएर मनले शीतलता प्राप्त गरिरहेको थियो । दुई दिनपछि हामी पटना फर्किर्यौं ।

ओशोबाट दीक्षित भएपछि ओशोले बुद्धबारे दिएका सुन्दर प्रवचनहरू सुन्ने मौका मिल्यो । ती प्रवचनमा बुद्धगाथाका अनेक प्रसंग आउँछन् । बुद्धगाथामा आएका जेतवन, श्रावस्ती, बोधगया, कुशीनगर, कौशान्वी, राजगृही, लुम्बिनीमा बुद्धका साथ हजारौँ भिक्षु विचरण गर्थे भन्ने ओशोका शब्दले आफूलाई भित्रैबाट तरंगित गर्थे । लाग्थ्यो, म पनि ती घटनामा सलंग्न छु, ती दृश्यहरू मैले पनि देखेको छु ।

ओशोको बुद्धप्रति अत्यन्त समादर र प्रेम छ । ओशोले बुद्ध र बुद्धदर्शनको गहनतालाई सरस र कावात्मकरूपमा सरल शब्दमा बुझाउनु भएको छ । बुद्धको जीवन र दर्शनमाथि मात्रै ओशोका लगभग सय पुस्तक उपलब्ध छन् । बुद्धदर्शनका ज्ञाता, भिक्षुहरूबाट बुद्धबारे धेरै कुरा सुनेको छु । मैले थिक न्यात हन्ह, दलाई लामा र अन्य रिम्पोचेबाट बुद्धबारे सुनेको र पढेको छु, तर ओशोको उचाईं, मधुरता र सरलता अतुलनीय छ । ओशोको बुद्धवाणीको काव्यात्मक व्याख्या अद्वितीय छ । बुद्धलाई बुझ्न चाहने तथा बुद्धप्रेमी सबैलाई म ओशोको बुद्धसाहित्य पढ्न आग्रह गर्छु । मैले अनेक देशका बुद्ध गुम्बामा बुद्धविद्वान्हरूले ओशोका साहित्य अध्ययन गरिहेको भेटेको छु ।

बोधगया पुगे पनि लुम्बिनी भने म कहिल्यै पुगेको थिइनँ । यो सन् १९८८ डिसेम्बर २४ तारिख (२०४५ साल पुस १९ गते शनिबार) को कुरा हो । आशीष ध्यान केन्द्र, ताहाचलमा ध्यान शिविर सञ्चालन भइरहेको थियो । ओशोले बुद्धवाणीमा दिएको प्रवचन माला ‘एस धम्मो सनंतनो’ को श्रवणमा हामी शिविरमा ध्यानस्थ भएछौँ । मैले बुद्धका गाथाहरू सुनाउन थालेँ । दर्शनभन्दा पनि बुद्धजीवनका प्रसंग मलाई अन्यन्त मार्मिक, गहन र ओजपूर्ण सन्देशले परिपूर्ण लाग्छन् । त्यसमा बुद्धले मानिसका दुःख, पीडा र समस्यालाई यस्ता घटनाको क्षणभंगुरताको बोध गराउनु भएको छ । तृष्णाबाट मुक्त आर्यपथको मार्ग देखाउनु भएको छ । शिविरको मध्यमै अचानक मलाई लुम्बिनीले तान्यो । म नेपालमै जन्मेर पनि लुम्बिनीको दर्शन गर्न पाएको थिइनँ । लुम्बिनीको आर्कषणले हृदय अति उद्वेलित भएर अटसमटस हुन थालेपछि मैले लुम्बिनी जाने इच्छा व्यक्त गरेँ । पाँच दिनको शिविरको त्यो तेस्रो दिन थियो । मैले पुराना सन्यासिहरुलाई तपाईंहरू ध्यान शिविर सञ्चालन गर्नुस् मलाई लुम्बिनीले असाध्यै तान्यो, म लुम्बिनी हिडेँ भनेँ । सबै मित्र चिन्तित भए । तपाईंले छोडेर गएपछि शिविरै बिग्रिन्छ भन्न थाले । एकपछि अर्को गर्दै सबैजना म पनि तपाईंस“गै जान्छु भन्न थाले । करिब ३५ जना शिविरमा थियौँ । शिविर छोडी सबै मसंगै लुम्बिनी जाने भए । हामीले बस रिजर्भ गरयौँ । राति १२ बजे लम्बिनी पुग्यौँ ।

लुम्बिनीमा त्यसबेला खाने–बस्ने केही व्यवस्था थिएन । एउटै होटेल थिएन । एउटा भत्किन लागेको राणाकालीन धर्मशाला थियो, त्यो बस्न लायक थिएन । हामी मध्यरातमा पुगेकाले ढोका पनि खोलिएन । विदेशी बस्न भनी बनाइएको एउटा सानो गेस्ट हाउस थियो । त्यही दिन फर्किन नसक्ने विदेशी त्यहाँ बास बस्थे । गेट हाउसमा सुविधा नेपाली थियो, तर दरचाहिँ अमेरिकी थियो । नेपालीलाई त्यहाँ राख्ने चलनै रहेनछ । नेपालीका लागि त्यो निकै महँगो थियो । निकैबेर अनुनय–विनय गरेपछि कोठा खोलिदिए । हामीले त्यहीँ रात कटायौँ ।

मलाई मायादेवीको मन्दिरले तानिरहेको थियो । म नुहाईधुवाई गरेर मन्दिर तिर लागे । संयोग नै थियो, त्यो पूर्णिमाको रात्रि थियो । म राति मन्दिरतिर जान लागेको देखेर गेस्ट हाउसका मानिसले खतरा छ, बँदेल र अन्य जनावर छ्याछ्याप्ती छन्, राति नजानुस् भने । त्यसबेला लुम्बिनी जंगल थियो, घरहरू बनेका थिएनन् । दिउँसै सुनसान हुन्थ्यो । अहिले पनि कहिलेकाहीँ लुम्बिनीमा बँदेलका झुण्ड घुमिरहेका भेटिन्छन् । 
कहिलेकाहीँ मानिसलाई आक्रमण गरेर घाइते पनि बनाउँछन्, मानिस मारेको पनि सुनिन्छ । तर, मैले आफूलाई रोक्नै सकिनँ । मसंग एक जना मित्र जान तयार भए । मन्दिर त बन्द थियो । त्यहीँ भएको पीपलको रुखमुनि हामी ध्यानमा बस्यौँ । सुनसान रातमा एक रहस्यमय उपस्थितिको बोध भइरहेको थियो । हाम्रो हृदय शान्ति र एक अज्ञात लोकको पुकारले गुञ्जित भइरहेको थियो । आनन्द सरोवरमा मेरो प्राण गोता लगाइरहेको थियो । मन थामिएको थियो, चेतनाको अकम्पित त्यो अप्रत्यासित–स्थिर अवस्थामै सारा रात बित्यो । बिहान मन्दिर खुल्यो र मन्दिरका पुस्तैनी ब्राह्मण पूजारीले मलाई लुम्बिनीको इतिहास बताउनु भयो । उहाँकै सान्निध्यमा मैले लुम्बिनीमा सारा दिन बिताएँ । त्यहाँ एक गिलास पानी खाने राम्रो व्यवस्था पनि थिएन, भोजनको कुरा त परै जाओस् । परित्यक्त लुम्बिनीको त्यो अवस्था थियो । काठमाडौँ आएर मैले एक लेख पनि लेखेको थिएँ, शीर्षक थियो– ‘हाय लुम्बिनी तेरो दुर्दशा’ । सामान्य गाउ“को पसलमा हामीले चिउरा र दही भेट्टायौँ । दिउ“सोका भोजन त्यही थियो ।
हामी कपिलवस्तुतर्फ लाग्यौँ । कुन आकर्षणले हो हामीलाई बुद्धले शरीर छोडेको ठाउँले खिच्यो । हामीलाई कुशीनगर जाने उत्कण्ठा पैदा भयो । बस भारत छिर्ने अनुमति लिएर हामी सबै कुशीनगर गयौँ । एक रात त्यहाँ बस्यौँ । उत्तर प्रदेश सरकारको गेस्ट हाउस सुविधाजनक थियो । त्यहा“ पनि हामीलाई आनन्दानुभूति भयो । कुशीनगरको निर्वाण मन्दिरको पछाडि बसेर मैले बुद्धबारे लामो प्रवचन दिएको रहेछु । म आँखा बन्द गरेर करिब तीन घन्टा बोलेछु । आँखा खोल्दा मैले देखेँ– धेरै बुद्ध भिक्षु, पर्यटक पनि सजल आँखा लिएर सुनिरहेका थिए । आफू अस्तित्वको माध्यम भएर मानसपटलमा उत्रेका चित्रहरूको व्याख्या गरेझैं म बोलिरहेको थिएँ । मैले कतै नपढेका–नसुनेका कुरा पनि बोलेछु । कुनै लोकबाट अवतरित भएका ती हृदयस्पर्शी प्रवचनले सबैलाई छोएछ । आम्रपालीको बुद्धप्रतिको समर्पण, राजा बिम्बिसार, प्रसन्नजितको बुद्धप्रेम, पटाचारा र कृषा गौतमीका मार्मिक घटनाले धेरैका आँखा रसाए । जब हृदयको अन्तस्थलबाट कुनै कुरा निस्किन्छ त्यसले संवेदनशील हृदयलाई अवश्य प्रभावित गर्छ । त्यो मेरो जीवनको एक गहन हार्दिक अनुभूति थियो । कुशीनगरबाट काठमाडौँ फर्किंदा मलाई पुनः लुम्बिनीले तान्यो । मैले लुम्बिनी छोड्न सकिनँ र हामी एक रात फेरि लुम्बिनी बस्योँ । लुम्बिनी छोड्ने बेला मेरो छाती नै फाटेजस्तो भयो । आफैलाई छोडेर हिँडेजस्तो भयो लुम्बिनी छोड्दा । पहिल्यै कहिल्यै नपुगेको र बस्ने खाने यत्रो असुविधा भएको लुम्बिनीले मलाई किन यसरी तान्यो ? मैले बुझ्न सकिनँ । हामी काठमाडौँ फर्किएको केही दिनपछि मलाई ओशोको गहन याद आयो र म गुरुदर्शनका लागि पुना गएँ । मैले लुम्बिनी, कुशीनगर र कपिलवस्तुमा खिचेका फोटो ओशोलाई पठाएँ । ओशोले त्यसपछि कुशीनगर, बोधगया, कपिलवस्तुका बारेमा आफ्नो प्रवचनमा बोल्नु भयो । पछि मैले थाहा पाएँ , पूर्णिमाको रात लुिम्बनीमा मलाई गहन ध्यान लागेकै समयमा ओशोको शरीरमा मैत्रेय बुद्धको अवतरण भएको ऐतिहासिक घटना भएको रहेछ ।
बुद्धले शरीर छोड्नुअघि भन्नु भएको रहेछ, म २५ सय वर्षपछि मैत्रेय अवतारको रूपमा पुनः आउने छु । मेडम ब्लाभ्स्की, कनल अकाल्ट, एनी बेसन्टले स्थापना गरेको थियोसोफिस्ट आन्दोलन सयवर्षदेखि यही उद्देश्यमा रत थियो कि मैत्रेय बुद्धको अवतरणका लागि उपयुक्त वातावरण तयार होस् । तिब्बतका अशरीरी लामाहरूसँग उनको संवाद थियो । मैत्रेय बुद्धलाई जन्माउन सक्ने उपयुक्त गर्भ पृथ्वीमा उपलब्ध नभएकाले कृष्णमूर्तिको शरीरमै बुद्धको चेतनालाई अवतरित गर्ने कठिन प्रयास गरियो । हल्यान्डको ओमेनमा विश्वभरबाट जम्मा भएका १० हजार थियोसोफिस्टको समारोहमा कृष्णमूर्तिको शरीरमा मैत्रेय बुद्धको चेतनाको अवरतण गराउने प्रयास भयो, तर लामो तयारीपछिको अन्तिम क्षणमा आफ्नो शरीर उपलब्ध गराउन कृष्णमूर्तिले अस्वीकार गर्नुभयो । त्यो प्रयोग विफल भयो । 

सन् १९७१ मा गान्टोकको रुमटेक गुम्बामा गोविन्द सिद्धार्थले १६औँ कर्मापा लामालाई भेटेका थिए । लामाले भनेका थिए, जुन प्रयोग कृष्णमूर्तिको शरीरमा हुन सकेन एक दिन त्यो आचार्य रजनीशको शरीरमा हुनेछ । ओशोको शरीरमा मैत्रेय बुद्धको अवतरणको रहस्यमय काव्यमय वर्णन ओशो स्वयंले गर्नुभएको छ, जुन ‘नो माइन्ड द फ्लावर्स अफ इटर्निटी’ भन्ने पुस्तकमा उपलब्ध छ । ओशोको शरीरमा मैत्रेय बुद्धको अवतरण भएका दिन मलाई किन लुम्बिनीले तान्यो अब मलाई स्पष्ट भएको छ । म शिशिरको त्यो पूर्णिमाको रातभर ध्यानमग्न भएर लुम्बिनीस्थित मायादेवी मन्दिरको छेउमा पीपलको बोटमुनि बस्न सक्ने क्षमता र प्रेरणाले मलाई अहिले पनि विस्मित गराउँछ । लुम्बिनी र कुशीनगरको परिभ्रमण र त्यहाँ भएका रूपान्तरणकारी घटनाले मेरो बुद्धप्रतिको श्रद्धा प्रगाढ भयो, जुन आज पनि जीवन्त र झन्झन् बलियो भएर आइरहेको छ । त्यसपछि मैले बुद्धसंग सम्बन्धित क्षेत्र लुम्बिनी, चेतवन, बेणुवन, सारनाथ, कुशीनगर, बोधगया, श्रावस्तीमा थुप्रै ध्यान शिविर सञ्चालन गरेँ । यही शिविरका कारण ती क्षेत्रमा ओशोका सन्न्यासी थुप्रै छन् र ओशोका ध्यान केन्द्रहरू खुलेका छन् । आज लुम्बिनीमा ओशो जेतवन आध्यात्मिक ग्राम नामको ठूलो आश्रम खडा भएको छ, जहाँ बर्सेनि सयौँ साधक अनेक देशबाट बुद्धको दर्शन बुझ्न र साधनाको लागि पुग्छन् ।

ओशोको कृपाले म बुद्धसंग फेरि अन्तरंगरूपमा जोडिन पुगें । कुनै पनि व्यक्ति या गुरुसँगको अन्तरंग प्रेम एक जन्ममा मात्र हुँदैन । कैयौँ जन्ममा त्यो प्रेम गहिरिन्छ । पछि मेरा गुरु ओशो र आफ्नो साधनाबाट मैले के अन्तर्दृष्टि पाएँ भने, म अनेक जन्ममा लुम्बिनी, चेतवन, बेणुवन, सारनाथ, कुशीनगर, बोधगया, श्रावस्तीमा सत्यको खोजमा भट्केको रहेछु । त्यहाँ को कणकणमा हाम्रो पुरानो स्मृति जीवन्तरूपले सञ्चित छ । ती तरंगले मलाई बारम्बार खिचिरहन्छन् । ती सबै खाली विस्मृतमात्र भएका थिए, गुरुकृपाले अब स्मृत भएर आयो ।

नागरिक दैनिक २०७३ असार ५ गते आइतबार
www.nagariknews.com

Friday, June 15, 2018

तन्नेरी नरेन्द्र


 एकपल्ट कोलकाताको सडकमा एकजना युवक हिँडिरहेका थिए । अचानक सडकमा उनले कसैको गुहार सुने । के भयो भनेर उनले गुहार आए तिर हेरे अनि देखे एउटा घोडागाडी सडकको बिचमा बेगसित हाँकिएर अगाडि दगुरिरहेको । घोडा आफ्नो पूरा तागत लगाएर दगुरिरहेको थियो मानौं कुनै चिजसित डराएर घोडा जोडसंग कुदिरहेको हो । एउटि स्त्री, जो त्यस गाडिमा सवार थिइन, तिनको पनि सातो पुत्लो उडेको थियो घोडागाडिको कुदाइले गर्दा । तिनी निकै संकटमा थिईन ; कारण घोडागाडी उल्टने सम्बभावना थियो र नै तिनले गुहार मागेकी थिईन । कुनै पनि ब्यक्ती तिनको मद्दत गर्न भनेर अगाडि आएको थिएन तर ती युवकले भने बस्तुस्थिती बुझे । उनी निकै साहसी थिए । घोडा जब उनको सामुन्ने आइपुग्यो , तब उनले आफ्नो जिवनको बाजि लगाएर घोडा तर्फ लम्के अनि घोडाको लगाम समातेर त्यसलाइ रोकिन बाध्य गराए । ती महिलाले जीवनदान पाइन अनि त्यसको साटो तिनले ती युवक प्रती कृतज्ञता ब्यक्त गरिन ।

  को थिए त ती नवयुवक ? ती युवक अरु कोहि नभएर नरेन्द्रनाथ थिए । कालान्तरमा ती युवक नै कालजयी भएर स्वामी विवेकानन्द का नामले विश्वविख्यात भए । उनको जन्म कोलकाता सिमला क्षेत्रका नामि दत्त परिवारमा भएको थियो । उनका पिता श्री विश्वनाथ दत्त वकिल थिए । विभिन्न बिषयहरुमा उनको राम्रो अध्ययन थियो । उनकी पत्निको नाम थियो श्रीमती भुवनेश्वरी देवि । तिनी रानिझैं गरिमामयी देखिन्थिन एवं तिनको व्यवहार पनि उस्तै गरिमामय थियो । सबैले तिनको आदर गर्थे ।

  १२ जनवरी १८६३ मा तिनको गर्भबाट प्रथम पुत्रको जन्म भयो अनि पुत्रको नामाकरण भयो नरेन्द्रनाथ ।

  बाल्यकालमा नरेन्द्र निकै चन्चल थिए र उनलाइ सम्हाल्नु भुवनेश्वरीलाई निकै गार्हो पर्थ्यो तर पछि तिनले के थाहा पाइन भने जयिबेला नरेन्द्र अत्याधिक चन्चल हुने गर्थे त्यति बेला उनको शिरमा चिसो पानी हालेर कानमा शिवजिको नाम सुनायो भने उनी एकदम शान्त हुन्छन भनेर ; यसैकारण कैयोंपल्ट उनलाइ नियन्त्रणमा ल्याउन भनेर तिनले यो उपायको सहायता लिइन ।

  बालक नरेन्द्रले आफ्नी आमाबाट धेरै आध्यात्मिक कुराहरु सिकेका थिए , कारण उनकी आमाले उनलाइ महाभारत तथा रामायणबाट धेरै कथाहरु सुनाउने गर्थिन । रामचन्द्रजिको कथा सुन्न नरेन्द्रले औधी मन पराउथे । एकदिन उनले माटोले बनेको राम - सिताको युगल मुर्ती किने अनि फुलपातिले त्यसको पुजा गर्न थाले । एकपटक उनी केराबारिमा धेरैबेरसम्म हनुमानको दर्शन गर्ने अभिलाषा लिएर बसिरहे, कारण उनले कहिँकतै सुनेका थिए यस्तो स्थान हनुमानजिको प्रीय स्थल हुन्छ भनेर ।

  उनलाइ ध्यानमा मग्न हुने खेल पनि अति मन पर्थ्यो । उनी आफ्ना एक दुई जना संगिहरुलाइ लिएर कुनै एकान्त स्थलमा जान्थे अनि उनिहरुसंग मिलेर सीता - राम वा शिवजिको मुर्तिको अगाडि मुखेन्जिमा बस्थे । त्यसबेला ध्यान गर्दा उनी भगवानको गहिरो चिन्तन गर्ने गगर्थे। जतिबेला उनी ईश्वरको ध्यान मग्नतामा हुन्थे , त्यतिबेला आफ्नो छेउछाउका कुनै कुराको पनि ख्याल रहँदैनथ्यो । एकदिन ध्यान गर्दा एउटा नाग सुल्सुलाउँदै उनको छेउमा आइपुग्यो । त्यहाँ भएका सबै केटाकेटिहरुले सुइँकुच्चा ठोके , तर यहि बसिरहे । उनिहरुले उनलाइ धेरैपटक बोलाए , तर उनले केही सुनेनन । केहिबेरपछी नाग त्यहाँबाट गयो । पछि आमा - बाबुले " तँ किन भागिनस " भनेर उनलाइ सोध्दा उनले भने , " मलाई नाग देवताको बारेमा पत्तै लागेन । म त भगवानको ध्यान गर्दा आनन्दमा डुबेको थिएँ । "

  जब कुनै पनि साधु उनको घरमा आउथे, तब उनी निकै खुसी हुन्थे । कहिलेकाँही त उनले उनिहरुलाइ दामी सामानहरु पनि दिने गर्थे । एकपल्ट त उनले आफुले लगाएको नयाँ लुगा नै एकजना साधुलाइ दिए । यस घटना पछि जब कुनै पनि साधु उनको घरमा आउथे, तब उनलाइ एउटा कोठामा थुनेर राखिन्थ्यो । थुनिएको बेला यदि संयोगबस उनको नजर कुनै साधुमा पर्यो भने उनले साधुको लागि झ्यालबाट सामान खसालिदिन्थे । कहिलेकाहीँ त उनले भन्ने पनि गर्थे , एकदिन उनी पनि साधु बन्नेछन भनेर ।

  उल्लेख भैसकेको छ - नरेन्द्रका पिता वकिल थिए । वकिल भएकाले उनिलाइ सबै जाती समुदायका मानिसहरु भेट्न आउथे । त्यसबेला भारतबर्षमा अस्पृष्यताको ठूलो राज थियो । बर्तमान समयमा पनि भारतबर्ष अस्पृष्यताको बन्धनबाट मुक्त हुन सकेको छैन । झन उनको पालामा भारतवर्षको अवस्था अस्पृष्यताको सम्बन्धमा कस्तो थियो होला सहजै अनुमान लाउन सकिन्छ । यहि अस्पृष्यता सम्बन्धी रितिरिवाज पालन गर्नु पर्ने हुँदा उनले आफुलाइ भेट्न आएका जाती - समुदाय बिच हिन्दु , मुसलमान वा अरु कुनै पनि जाती छ भने , जाती अनुसार उनिहरुलाइ सत्कार स्वरुप धुम्रपानका लागि हुक्का दिंदा एउटै हुक्का नदिएर हिन्दुलाइ हिन्दुद्वारा प्रयोग गरिने अनि यसै अनुरुप मुसलमानलाइ मुसलमानद्वारा प्रयोग गरिन्वगरिने भिन्न भिन्न हुक्का दिने गर्थे । भोजन गराउदा पनि सबै जाती - समुदायलाइ एउटै ठाउँमा बसाएर गराइदैनथियो ; यसैकारण नरेन्द्रका लागि यो जाती - भेद एउटा ठूलो रहस्य थियो । हिन्दुले हिन्दुद्वारा प्रयोग गरिएको हुक्का मात्र प्रयोग गर्नु अनि यहि अनुरुप मुसलमानले मुसलमानद्वारा प्रयोग गरिएको हुक्का मात्र प्रयोग गर्नु को कारण के छ ? एउटा जातिले प्रयोग गरेको हुक्का अर्को जातिले प्रयोग गर्दा कुनै बिस्फोट हुन्छ र ? कि आकाश खस्छ ? यी प्रश्न को समाधान पाउन भनेर उनले एकदिन आफ्ना पिताजि कोठामा नभएको बेला सबै जातिद्वारा प्रयोग गरिएका हुक्का पालै पालो एक - एक गरि गुडगुडाए तर कुनै विस्फोट भएन , न त आकाश खस्यो । उनले हुक्का गुडगुडाएको बेला उनका पिताजी कोठामा पसे । उनलाइ हुक्का गुडगुडाएको देखेर पिताजिले यो के गरेको भनेर सोधे ।

  उनले उत्तर दिए - " बाबा , यदि मैले जात - पात मानिनँ भने आकास खस्छ कि भनेर सबै हुक्का तानेको हुँ । " उत्तर सुनेर पिताजी जोडसंग हास्दै आफ्नो अध्ययन कक्षमा गए । 

ओशोले सिकाएको जीवन

ओशो रजनीशको वास्तविक नाम चन्द्रमोहन जैन हो । उनी ११ डिसेम्बर १९३१ मा भारतको मध्यप्रदेशमा जन्मेका थिए । उनी दार्शनिकका रूपमा विश्वभर परिच...