प्रसिद्ध कवि तथा अमिताभ बच्चनका पिता हरिबंश राय बच्चनले आफ्नो जन्मदिनको अवसरमा भनेका थिए, 'म ७३ औं बर्षमा प्रवेश गरें । उमेरका कारण अनेक रोग लागेका छन तर यी रोगहरुमध्ये भयानक रोग हो - रजनीसाइटिस, जसबाट छुटकारा पाउन सजिलो छैन। यस रोगका लक्षणहरु हुन; सधैं आनन्दित र उत्साहित रहनु, जिवनलाई अति गम्भिरताले नलिई नाटकको रुपमा हेर्नू र अतिशय भौतिक महत्वकांक्षाबाट मुक्त रहनु, समाजले संकोच गरेका विषयमा पनि स्पष्ट र निर्भिक हुनु , भविष्यको सुखको लागि संचय गर्नु सट्टा बर्तमानलाई नै सुखपुर्बक जिउनु ।'
लेखक खुसवन्त सिंहले आफ्नो संस्मरणमा लेखेका छन 'मैले हजारौं ओशो सन्यासिहरुलाई भेटेँ तर आजसम्म कसैलाई उदास, दु:खी र मुख बिगारेर बसेको देखेको छैन । सबैलाई प्रफुल्लित पाएको छु । यहाँसम्म कि मृत्युमा पनि उनिहरु उत्सब मनाउँछन । पहिला मलाई लाग्थ्यो - कतै यो सबै बनावटी त होइन ? तर उनिहरुलाई नजिकबाट लियालेर हेर्दा पाएँ कि यो रजनीसाइटिस रोगको मुख्य लक्षण नै रहेछ ।' जिवनको उत्तरार्द्धमा उनी स्वयं नै यस रोगबाट ग्रसित हुन पुगे ।
ओशो रजनिश शरिरमा रहुन्जेल उनलाई बुझ्ने सबैभन्दा पहिलो तप्का कवि, कलाकार र लेखकको थियो । जब विश्वभरिका धार्मिक यथास्थितिवादिहरुले उनको बिरोध गरिरहेका थिए, यो प्रतिभावान, बिद्रोहीको समूह उनको वकालत गरिरहेको थियो ।
सन्त त धेरै भएका छन तर ओशो जस्तो बहुआयामिक रहस्यदर्शी अरु कोहि भएनन । हुन त सबै सच्चा सन्तले रुढिग्रस्त समाजको बिरोध केही न केही हदमा सहनु परेकै हुन्छ । तर ओशोले जस्तो विश्वब्यापी बिरोध बिरलै कसैले झेलेको होला । यति सम्म कि अनेक बिकसित राष्ट्रले पनि उनी यात्रा गरेको जहाजलाई तेल भर्नका लागि अवतरणको अनुमती दिन डराउँथे । यस्तो कुनै पनि बिषय भएन जसमा ओशोको मौलिक बिचारले तहल्का मचाइदिएको नहोस तर नग्न सत्य बोल्नु उनको अक्षम्य अपराध मानियो । जडग्रस्त मनस्थितिकाहरुले जति उनको बिरोध गर्छन, प्रतिभाशाली ब्यक्तिहरुले मुक्तकण्ठले त्यतिकै प्रशंसा गर्छन । प्रसिद्ध कवयित्री अम्रीता प्रीतमले राज्यसभामा दिएको यो अभिब्यक्ती म यहाँ राख्न चाहन्छु, 'केही व्यक्तिहरु हुन्छन जो चिन्तन, कला र बिज्ञानकाे क्षेत्रमा प्रतिभाशाली हुन्छन र यसै कारणले उनिहरुलाई समाजले सम्मानित पनि गर्छ तर ओशो एक यस्ता व्यक्ती हुन जसबाट यो देशै सम्मानित भएको छ, विश्व नै सम्मानित भएको छ ।' ओशो रजनिशकै 'जोरबा दि बुद्ध' दर्शनबाट प्रभावित भएर उनले 'मन मिर्जा तन साहिबा' भन्ने प्रसिद्ध पुस्तक सिर्जना गरिन ।
ओशो अतितको कुनै धार्मिक शृंखलाका कडि होइनन, बुद्धत्वको प्रवाहमा उनी एक नौलो प्रारम्भ हुन । ओशो संग एक नयाँ युगको आरम्भ हुन्छ । उनको समयलाई दुई खण्डमा बिभाजित गरेका छन - ओशोपुर्व र ओशोपश्चात । भारतका प्रसिद्ध गायक हरिओम शरणले भनेका छन, 'ओशो यस युगका एकमात्र महानतम ऋषि र युगप्रवर्तक हुन । उनको श्वासप्रश्वासमा, उठाइबसाइमा , हिँडाइमा धर्म नै धर्म छ । उनी समग्ररुपेण धर्मपुरुष हुन ।'
रजनिशपुरममा प्रवासको बेला भएको एउटा घटनाले मेरो हृदयलाई गहिरो छोएको छ । रजनिशपुरम अमेरिकाको एकान्त मरुभुमिमा अवस्थित २८२ बर्ग कि.मि.मा फैलिएको आफैमा पुर्ण एक स्वप्ननगरी थियो, जसको अमेरिकी बिधानानुसार आफ्नै नगरपालिका, विश्वविद्यालय, एयरपोर्ट र आफ्नै एयरलाइन्स थियो । सन १९८५ को कुरा हो । जुलाईमा गुरुपुर्णिमा महोत्सबको बेला विश्वका करिब २० हजार ओशो सन्यासी भेला भएका थिए र सात दिनसम्म चल्ने महोत्सबमा एक उत्सब, आनन्द र उत्साहको आध्यात्मिक माहौल थियो । त्यसबेला सयौं अमेरिकि आएर ओशो दर्शनमा दिक्षित भैरहेका थिए । उनिहरु मध्ये अधिकांश समाजका प्रतिष्ठित डाक्टर, ईन्जिनियर, हलिउडका कलाकारहरु थिए । अमेरिकि चर्चलाई भ्रम भयो कि ओशोले इसाई धर्मलाई अमेरिकामा सिध्याउनेछन । उनिहरुले सो कम्युन तोड्न र ओशो रजनिशलाई दु:ख दिन अमेरिकी प्रशासनसंग मिलि अनेक षडयन्त्र रचे । त्यसैको एक कडिको रुपमा एक बूढो पादरिलाई यस महोत्सबमा पठाइयो । ती पादरिसंग रजनिशबिरोधी चर्चद्वारा प्रकाशित एक पुस्तिका थियो जसमा बाइबलमा उल्लेखित 'सैतानले पठाएको एन्टि क्राइस्ट रजनिश नै हुन - उनले इसाई धर्मलाई ठूलो हानी पुर्याउनेछन' भनी लेखिएको थियो । ती पादरी सबैलाई त्यो पुस्तिका सित्तैमा बाँड्दै हिँड्थे । उनको त्यो कृयाकलापलाई कसैले गम्भिरतापुर्वक नलिएपछी उनी अझ आक्रोशित भए । ओशो त्यसताका दिउँसो कारमा घुम्न निस्किन्थे । गुरुपुर्णिमाको त्यो दिन संगित, नृत्य र भक्तिको माहौलले रंगिएको थियो । अचानक ती पादरी ओशोको गाडी अगाडि आई बाटो छेकी बर्बराउन थाले, 'तिमि सैतानले पठाएका दुत हौ, युवालाई भ्रष्ट गर्दैछौ, तुरुन्तै अमेरिका छोड, अमेरिकाले तिमिलाई घृणा गर्छ' ईत्यादी । जब स्वयंसेवकहरुले उनलाई हटाउन खोजे, ओशोले उनिहरुलाई रोकि भने, 'उनलाई पहिला आफ्ना कुरा भन्न देऊ ।' पादरिले बोलिसकेपछी ओशोले सोधे, 'तपाईलाई अरु केही भन्नू छ कि ? भनाई सकियो भने मलाई जान दिनुस ।' त्यसपछि उनलाई किनारा लगाइयो । सामान्यत: सबै शिष्य केहिकेही मात्रामा फेनेटिक हुन्छन । त्यहाँ पनि आफ्ना गुरुलाई गरेको अपमान देखेर शिष्यहरु रिसाइसकेका थिए । त्यो अनुभव गरि ओशोले भने, 'उनी एक बृद्ध ब्यक्ती हुन । आफ्नो समझानुसार धार्मिकै काम गरिरहेका छन । म व्यक्तिको मौलिक स्वतन्त्रताको पक्षपाती हुँ । उनलाई आफुलाई लागेको कुरा भन्ने पुर्ण स्वतन्त्रता छ । उनको त्यो मौलिक स्वतन्त्रताको रजनिशपुरममा आदर भएन भने अरु कहाँ हुन्सक्छ ? त्यसकारण कसैले उनलाई दुर्ब्यवहार नगरोस । यहाँ उनिप्रती अनादर भयो भने त्यसलाई म आफ्नो दर्शनकै पराजयको रुपमा लिनेछु । उनी यहाँ रहन चाहे भने पुर्ण स्वतन्त्रता र आदरसाथ बस्ने ब्यवस्था होस ।' यो सुनी सबै शिष्य संयमित भए र मेरो आँखामा झरझर आँसु आयो । मलाई पुन: आत्मगौरब भयो कि मैले सहि गुरु छानेछु ।
( स्वामी आनन्द अरुणद्वारा लिखित पुस्तक 'अन्तर्यात्रा'को केही अंश )



