Friday, May 18, 2018

दिल खोलेर हासौं - स्वामी आनन्द अर्हत


तपोवनमा नियमित ध्यान गर्न आउने एक महिला सन्न्यासी थिइन्। खुसीमा रमाइरहेका हामीले एक दिन उनको मुहारमा हाँस्न खोजे पनि हाँसो फुट्न नसकिरहेको देख्यौं। सहजै हाँसो लाग्ने कुरामा पनि उनी हाँस्न खोजेजस्तो पनि गर्थिन् तर कताकता संकोच छाइहाल्थ्यो। त्यस्तो अन्यमनस्क स्थिति देखेर सोध्दा उनले भनिन्, ‘आजै एन्टिरिन्कल फेसियल गरेर आएकी, थेरापिस्टले नहाँस्नु भनेको छ, अनुहार बिग्रिन्छ रे।’ सुन्नेजति तीन छक पर्‍यौं। विगतमा उनको मुहारमा भएका १५ प्रकारमा मांसपेसीको नृत्यमा चढ्ने हाँसोले जुन कान्ति छथ्र्यो अहिले त्यो बिदा भएको थियो। सायद गम्भीर भएर सुन्दर हुन खोज्ने मनुष्यको यो पुरानै रोग हो।
अमेरिकामा सात हजार मानिसमा गरिएको सर्वेक्षणमा ८७ प्रतिशतले पहिलोचोटि कसैले हाँसेर भेट्दा सबैभन्दा मित्रवत् व्यवहार भएको ठान्दा रहेछन्। भर्खरै जन्मिएको शिशुले पनि केही महिनापछि आमाबाबुको खुसीको हाउभाउको जवाफ हाँसेर दिन थाल्छ। स्कुले जीवन पूरा भएको दशकौं बित्दा पनि सबैभन्दा ह“समुख दयालु वा अत्यन्त कडा र गम्भीर शिक्षकका अनुहार सम्झनामा रहिरहन्छ। हाँसो र रोदन मानिसका सबैभन्दा ठूला भाव हुन्, जुन विशेष भावनात्मक परिस्थितिमा सहजै व्यक्त हुन्छन्। हाँसोको ठूलो सम्भावना र गुण यसको पैmलिने स्वभाव हो। अध्ययनहरूले बताएअनुसार २० सेकेन्डको उन्मुक्त हाँसो १० मिनेटको शारीरिक अभ्यास समान हो।
हाँसो फैलिने ऊर्जा हो भने यसको विपरीत चिन्ता र भयले ऊर्जा खुम्च्याउँछन्। स्नायु मनोविज्ञानअनुसार हाँसोले मस्तिष्कको केन्द्रलाई जगाउ“छ। त्यसले अन्य जटिल क्रियाकलापमा भाग लिने मस्तिष्कका अन्य केन्द्रलाई पनि सकारात्मक संवेगले जोड्छ। यसबाट एक आरामदायी, आत्मविश्वास तथा तनावमुक्त वातावरण बन्न थाल्छ। गम्भीर माहोल यसै पनि दुःखदायी हुन्छ। गम्भीरता अहंकारबाट जन्मिन्छ। हाँसो र आद्रता भने जीवन ऊर्जाको सहज अभिव्यक्ति हुन्। ती निर्दोष र मंगलकारी हुन्छन्।
यो संसार चलाउने सबै गम्भीर भएकैले आज सबैतिर गम्भीरता छाएको छ। हाम्रो शिक्षा प्रणाली गम्भीर छ। शिक्षक गम्भीर छन्। राजनेता गम्भीर छन्। मानिसको भित्री सम्भावना नबुझेका धर्मसम्प्रदाय भयग्रस्त धर्मभीरु जनसमुदायलाई स्वर्ग र नर्कको परिभाषा पिलाउन गम्भीर छन्। खासमा मानिसको हरेक कोषिकामा गम्भीरताको मधुमेह चढेको छ।
आज हाँसो कठिन बनेको छ। कुनै बेला एक साहुको घरमा बाबुले खाएको ऋण तिर्न पेट पाल्ने चिन्ताबाट मुक्त भई कमैया बनेर बसेको छोरालाई हाँस्न गाह्रो थियो। ३०–३५ वर्षका लागि घर, इन्टरनेट, स्मार्टफोनको कर्जा लिएर मासिक ऋण तिर्ने व्यवस्थामा अल्झिएको आजको आधुनिक कमैयालाई हाँसो त्योभन्दा कठिन बनेको छ। जीवनको महत्वपूर्ण समय ऋणमोचन खेर फालेको मानिसले जीवनको सीमितता देखेपछि सबथोक भ्याउन जीवनको गति तीव्र बनाउन खोज्छ। बाहिर जति गम्भीर भएर दौड्न खोज्छ र त्यसलाई धान्न उसभित्रको जैविक स्नायु पनि छिटोछिटो चल्न थाल्छ। यसरी बाहिरको हतारो, शरीरको रगतमा दबाब, श्वासको भारीपन, कोषिकाको कठोरता आदिले नकारात्मक विचार बढाउँदै लैजान्छ।
एक जेन गुरुलाई एक व्यक्तिले कसरी सुखी हुने भनेर सोधेछन्। गुरुले जवाफ दिएछन्, अहिले नै सुखी होऊ। गुरुबाट लामो प्रवचनको आशा राखेका शिष्य अवाक् भए। हामीलाई पनि यी गुरुको यो जवाफ अव्यावहारिक लाग्न सक्छ। तर भविष्यमा कतै सुख छ भनेर आजसम्म कुनै दार्शनिकले प्रमाणित गरेको छैन। भविष्य त अनिश्चित छ। सोचेको जस्तो हुँदा सुख भएको आभास हुने र नहुँदा दुःखी हुने मात्र हो। वास्तविक सुख एक अनुभव हो। सुख त्यस्तो स्थितिको अनुभव हो, जतिबेला शारीरिक, मानसिक र भावनात्मक सबै स्तरमा एक निद्र्वन्द्व ऊर्जाको प्रवाहले उत्पन्न हुन्छ। जेन गुरुको आशय पनि यही अवस्थामा फर्क भन्ने हो। मनको कल्पना गर्ने क्षमताका कारण आशा र सपनामा सुख हुन्छ भन्ने ख्याल मात्र हो। सपनामा जति उडे पनि विपनामा हेर्दा टाउको सिरानीमै पल्टेको हुन्छ। सपना देखिन्जेल सपना सपनाजस्तो लाग्दैन। निद्रा खुलेपछि घरको कोठा, खाटलाई नै वास्तविकता मान्नैपर्छ। त्यसैले भविष्यको कल्पनामा जति रमाए पनि वर्तमानलाई यथार्थको रूपमा आलिंगन गर्ने कला सिक्न आफैंभित्र प्रवेश गर्नैपर्छ। प्रत्येक दिन अभ्यासका रूपमा थोरै समयका लागि भए पनि आफूतिर फर्किनैपर्छ।
हरेक सेकेन्डमा एक विचार चल्ने मनको के ठेगान ? चौबीस घन्टामा करिब ७२ हजार चल्ने विचारमध्ये २–३ प्रतिशत विचार मात्रै नयाँ हुन्छन्। सबै पुनरुत्ति भइरहेका कुन विचार वास्तवमा नै आफ्नै हुन्, कसले निर्णय गर्ने ? यो निर्णय गर्ने सामथ्र्य गम्भीर र हतारिएको मनमा हु“दैन। मन शान्त भएपछि आफ्ना लागि अर्थपूर्ण निर्णय गर्ने सुझ स्वतः पलाउँदै जान्छ।
मानिस सकारात्मक हुनै पर्दैन, सकारात्मकता शान्तिको छायाँ हो। हिजोको मानिस बीउविजन, खेती गर्ने पानीका लागि चिन्तित थियो भने आजको मानिस घरमा बसीबसी विश्वका सबै समस्याले अशान्त र चिन्तित छ। त्यसैले सामाजिक सञ्जालमा कहिल्यै नदेखेका नभेटेको टाढाका व्यक्तिहरूलाई मित्र बनाई छिमेकीस“ग मुस्काउन बिर्सने जीवनचर्याको फन्दाबाट बचौं। आफैंलाई शान्त राख्ने र आफैंभित्र विराजमान मित्र मनलाई पनि ‘लाइक’ क्लिक गर्ने कला सिकौं। बाहिरी फेसबुकबाट अरूको फेसमात्र होइन, भित्र आफ्नो ‘ओरिजिनल फेस’ (अन्तरआत्मा) लाई पनि चिन्न सिकौं।
आजभन्दा पाँच हजार वर्षअघि चिनियाँहरूले आफ्ना ग्रन्थमा पतिले पत्नीलाई, पत्नीले पतिलाई नटेरेको, छोराले बाबुको कुरा नसुनेको, समाज चलाउनेहरू र न्याय दिनेहरू भ्रष्ट भएको गुनासो गर्दै समाजका समस्याको लामो फेहरिस्त समेटेका छन्। यो संसारका सबै समस्या आजसम्म कसैले समाधान गर्न सकेको छैन। समस्याको न्यूनीकरण व्यक्ति स्वयम्बाट सुरु हुन्छ। गम्भीर हुन जीवनमा धेरै तानाबाना बुन्नुपर्छ, तर मुस्कुराउन केही चाहिँदैन। त्यसैले नहाँस्नुभन्दा हाँस्न धेरै सजिलो छ। सधैं याद राख्नुस्, यो अस्तित्वलाई तपाईंको गम्भीरताको केही मतलब छैन। हो, तपाईं आल्हादित भएर मुस्काउनुभयो भने यो जगतै तपाईंसँगै हुनेछ।
०८ बैशाख २०७५ Annapurna Post

साना कुराले बनेको छ जीवन - स्वामी आनन्द अर्हत


- स्वामी आनन्द अर्हत
जीवनको अनुभूति ससाना अनुभवको जोड हो। यस्ता असंख्य अनभुवले हाम्रो जीवनलाई हेर्ने दृष्टि र मनोविज्ञान निर्माण हुन्छ। यी सबैको मुख्य अनुभूति भने शान्ति र सुखको अनुभूति हो। कसैले शारीरिक सुखलाई आफ्नो जीवनको लक्ष्य मान्छन् भने कसैले मानसिक सुखलाई जीवनको अन्तिम गन्तव्य मान्छन्। कसैका लागि भावनाहरूको अतिरेकमा नै जीवनको परम सुखको परिभाषा लुकेको हुन्छ। त्यसैले शरीर, मन या भावहरू जहाँ हाम्रो चेतना गएर अड्किन्छ त्यसैअनुरूपको सुखको व्याख्या हुन्छ। शारीरिक सुखमा व्यक्तिले शरीरमा उत्पन्न हुने संवेगलाई सुख ठान्छ। भोजन, निद्रा र कामको सीमाभित्रबाट उत्पन्न हुने यो सुखको आफ्नै सीमा हुन्छ।
करोडौं कोषिकाहरू मर्ने र बन्ने खेलको मैदानरूपी शरीरको प्रकृति यही हो। आयु बढ्दै जाँदा स्वास्थ्यमा ह्रास हुन्छ र जवानीमा जस्तो ऊर्जाको स्फुरण हुँदैन। जुन शरीरको भर गरेर सुखको सपना बुनिन्छ, त्यो नै कमजोर पर्न थाल्छ। सुन्ने कान, बोल्ने वाणी, देख्ने आँखा, गन्धरस लिने नाक आदिका कोाषिका कमजोर पर्न थालेपछि मानिस आफैंभित्र सिमटिन बाध्य हुनुपर्छ। धेरै कुरामा अरूको साहारा लिनुपर्ने अवस्थामा त छँदैछ तर आफैंभित्रको अनियन्त्रित विचारको बबन्डरले जीवनमा एक सामञ्जस्य हराउँदै जान्छ। शारीरिक समस्याले योभन्दा माथिको मानसिक आयामलाई आघात पार्न थाल्छ।
एक मानिस मनोवैज्ञानिकलाई आग्रह गरिरहेको रहेछ, ‘डाक्टर साहेब, मेरो व्यक्तित्वलाई दुई भाग गरिदिनुस्। उपचारको यस्तो अनौठो माग रोगीबाटै सुनेर डाक्टर छक्क परेछन् र सोधेछन्, ‘त्यस्तो जरुरी किन पर्‍यो ? ’ रोगीले जवाफ दिएछ, ‘म एक्लै परें। मेरो कुरा कसैले सुन्दैन। मेरो कसैलाई आवश्यकता छैन। यो निरस जीवनमा अब म आफैंसँग कुरा गर्न चाहन्छु।’ यो अशान्त मनको अन्तिम नियति हो। मनको अन्तिम परिणति करिब यस्तै हुन्छ। त्यसैले विचारहरूलाई पार गर्दै गहन चेतनामा वि श्रान्तिको अनुभवले यस्तो विक्षिप्तताबाट मुक्ति पाउन सकिन्छ।
‘‘भविष्यमा दौडिने र आकार परिवर्तन गरिरहने मन चिन्ताको जड हो। यसले शान्ति त दिएको देखिँदैन, तर यसले तर्साउन र चिन्तित बनाउन भने छोड्दैन।’’
मनको सुख भने मनोवैज्ञानिक हुन्छ। यो विचारहरूको गठजोडबाट बन्छ। कुन विचारले सुखदायी र कुन विचार दुःखदायी भन्ने कुराको साधारण मनले भेउ पाउन सक्दैन। एक क्षण अघिसम्म राम्रो ठानिएका विचार एकैछिनपछि खराब लाग्छन्। विचारको स्तरमा परिस्थितिअनुसार मनस्थिति परिवर्तन भइरहन्छन्। त्यसैले विचारलाई लिएर सुख पाउन हिँड्नेहरूलाई भित्री चिन्ता, मनोवैज्ञानिक असुरक्षा र मानसिक अशान्तिले सताइरहन्छ। विचारलाई सेवक हैन मालिक ठान्ने मनुस्यले विचार नै मै हुँ भन्ने ठान्छ। साधारणतः यस्तो लाग्नु अस्वाभाविक पनि होइन। न्युरो मनोवैज्ञानिकहरू के भन्छन् भने चौबीस घन्टामा हामीभित्र ७४ हजार विचार चल्छन्। यसमा पनि अलिक सृजनशील व्यक्तिमा पाँच प्रतिशत विचार नयाँ हुन्छन्।
साधारणतः मननशील चित्त नभएको मनुष्यमा एक प्रतिशत विचार पनि नयाँ हुँदैनन्। प्रज्ञा स्थिर नभएको हाम्रो मन भने जंक बक्स नै हो। त्यसैले यो संसारको सबै प्रकारका समस्याको जड महत्वाकांक्षी शिक्षितहरूको उपज हो। गाउँमा खेतीकिसानी गर्ने व्यक्तिहरूको होइन। मनको एक रोचक पक्ष के हो भने यसले समस्या समाधान गरेजस्तो देखिए पनि समस्याको रूपलाई मात्र फेरिरहन्छ। किनभने मनको स्वभाव नै द्वन्द्व हो। त्यसैले तीन हजार वर्षअघिका चिनियाँ ग्रन्थहरूमा मानिसहरू अनैतिक भएको, बाबुको कुरा छोराले नसुनेको, समाजमा कलह बढेर समाज बिग्रिँदै गएको चिन्ता व्यक्त गरिएको पाइन्छ, आज पनि यही चिन्ताले समाजलाई सताएको छ। समाजमा बस्ने मानिसहरूको नैसर्गिक प्रवृत्ति बदलिएको देखिँदैन। त्यसैले ओशोको एक रोचक उद्गार छ, ‘आज बुद्ध आउनुभयो भने मानिसले बनाएको रकेट, हवाईजहाज, गगनचुम्बी महल देखेर छक्क पर्नुहुन्छ तर मानिसलाई देखेर उहाँ छक्क पर्नु हुन्न। पच्चीस सय वर्षअघिको मुनष्य र अहिलेको मनुष्यको चेतनामा तात्विक फरक छैन। ढुंगामुढा र तीर चलाएर युद्ध गर्ने त्यतिबेलाको मनुष्य र आज क्षेप्यास्त्र चलाएर युद्ध गर्ने मनुष्यमा भित्री रूपान्तरण देखिँदैन। उसको हिंस्रक प्रवृत्तिमा कुनै परिवर्तन आएको छैन। खाली आवरण मात्र परिवर्तन भएको छ।’
केही दशकअघिको कुरा हो। राजा वीरेन्द्र नेपालको कुनै गाउँमा घुम्दै पुगेछन्। झुन्ड्याइएका फोटामा मात्र देखिने राजा साक्षात् गाउमा आएको खबरले गाउँ नै उल्टिएर राजालाई हेर्न पुगेछ। राजाले जम्मा भएको भीडतिर हेरेर सोधेछन्, ‘के छ, सबै ठीक छ ? ’ एक सोझा व्यक्तिले हात जोड्दै राजाका अघि आएर बिन्ती गरेछन्, ‘सरकार, गाउँका टाठाबाठा सबै चुनाव जितेर काठमाडौं गए। फर्किएर आएका छैनन्। गाउँमा शान्ति छ हजुर।’
गाउँमा शान्तिको पदार्पणका लागि उपद्रवीहरूले लामो समयसम्म गाउँ छोडे झैं चित्त शान्त हुन उपद्रवी विचारलाई शान्त गर्न जरुरी छ। विचारहरू शान्त भएको चेतना संवेदनशील हुन्छ। हामीले आर्जन गरेको मित्रता र सम्बन्धको सुख लिन अनि कमाएको धनलाई भोग्न र आफ्नो आर्जन अरूको सुखको कारण बन्न पनि शान्त चित्त चाहिन्छ। शान्त चित्तमा अहिंसाको पदार्पण हुन्छ। अहिंसाको भूमिमा मात्र मित्रता, करुणा र आह्लाद जस्ता सकारात्मक गुणहरूको वीज हुर्किन्छन्। त्यसैले शान्तिसँग समृद्धि पनि जोडिएर आउने गर्छ।
भनिन्छ– गरिब जसोतसो बाँच्न बाध्य हुन्छ, तर धनीलाई के स्वतन्त्रता भने उसले आफ्ना दुःख स्वयम् किन्न सक्छ। एक विसंगतिबाट अर्को विसंगतिको यात्रामा स्थिर चित्त कसरी प्राप्त गर्ने ? यसका लागि विचारहरूले मलाई अहिले कुन परिस्थितिमा पुर्‍याइरहेका छन् भनी केही सेकेन्ड स्थिर भएर मनमा चलेको खेललाई अचुनावको अचल स्थितिमा हेर्न सक्ने अभ्यास र सामथ्र्यको विकास गर्दै लैजानुपर्छ। तर विचारबाट जतिसुकै यो कुरा बुझे पनि मानिस जति महत्वाकांक्षी हुन्छ त्यति नै उसको चित भविष्यको चिन्तामा दौडिन थाल्छ। यो अवस्था भनेको स्वप्नवत भविष्यको कल्पनामा विस्मृत हुनु हो। यो बुद्धले भनेको जागृतिको अवस्था होइन।
भविष्यमा दौडिने र आकार परिवर्तन गरिरहने मन चिन्ताको जड हो। यसले शान्ति त दिएको देखिँदैन, तर यसले तर्साउन र चिन्तित बनाउन भने छोड्दैन। मानिसले महत्वाकांक्षाबाट आफूलाई व्यस्त त बनाउन सक्छ तर यसलाई भोग्न सक्दैन किनभने महत्वाकांक्षाले अरूको नजरमा आफूलाई केही हुँ भन्ने प्रमाणित हुन सक्ला तर एक्लै भएकाले क्षणमा त्यो आफैं काम लाग्दैन, शान्ति मिल्दैन। वास्तवमा अहिले जे छ त्यही भोग्ने हो। भोग्ने भनेको आखिर केही मिटर कपडा, केही सय ग्राम भोजन, सित्तैमा पाएको गहिरो निद्रा भोग, सबैसँग मित्रतापूर्ण व्यवहार नै तपाईंको व्यक्तिगत वास्तविक आर्जन हो। लियो टोल्टोयको ‘मानिसलाई कति जमिन चाहिन्छ ? ’ भन्ने कथाको सार झैं वास्तवमा जीवन साना कुराले बनेको छ। ठूला कुरा त मनका मात्र हुन्।
०५ जेठ २०७५ Annapurna Post

पुर्बी नेपाली धर्तीमा भयो अरुणोदय - स्वामी योगानन्द

स्वामी आनन्द अरुणको बाल्यकाल बहिनिको साथमा 
स्वामी आनन्द अरुण सदगुरु ओशोसंग दीक्षा लिंदै
स्वामी आनन्द अरुण ओशो उपबन, पोखरामा
स्वामी आनन्द अरुण ओशो तपोबन , काठमाडौंमा 
स्वामी आनन्द अरुण ओशो जेतबन, लुम्बिनिमा

- स्वामी योगानन्द
सन १९४४ जून १६ को त्यो पबित्र दिन , आमा सुमित्रा देबिले सनातनसनातन पबित्र भुमी जनकपुरको लोहना गाँउमा एक बालकबालकलाइ जन्म दिइन जसको नाम राखियो , अरुण कुमार सिंह । अरुण यानी सुर्य देवता । अरुण कुमार सिंह पछि गएर सदगुरु ओशोको सानिध्यमा आएपछी ओशोका प्रथम नेपाली शिष्य स्वामी आनन्द अरुण बन्नुभयो र सदगुरु ओशोको ध्यान , प्रेम, मैत्री , करुणा र आनन्दको सन्देश लिएर विश्वको आध्यात्मिक आकाशको सुर्य जस्तै बनी हजारौं ब्यक्तिहरुको जिवनमा सुख र आनन्दको किरण छर्न पुग्नुभयो ।

          स्वामी आनन्द अरुणज्युको बुवाको नाम केदार प्रसाद सिंह हो । बुवा अत्यन्त सरल र इमान्दार हुनुहुन्थ्यो । केदार प्रसाद सिंह बि. पि. कोइरालाका निजि सचिव र पछि नेपाल सरकारका मातहतमा बडाहाकिम समेत हुनुभयो । वहाँ अत्यन्त सादा तर अत्यन्त शुद्ध र सफा जिवनयापन बिताउनुहुन्थ्यो जसको प्रभाव स्वामि आनन्द अरुणको जिवनमा पनि स्पष्ट देख्न पाइन्छ । आमा सुमित्रा देबि नेपाली बिध्यार्थी आन्दोलनमा सुरु देखि नै सकृय हुनुहुन्थ्यो र नेपालबाट सोभियत रुस जाने प्रथम नेपाली टोलिमा समेत समाबेश हुनुहुन्थ्यो। बुवा आमाका मात्र दुई सन्तान, एक छोरा र एक छोरी तथा उच्च राजनैतिक पृष्ठभुमी भएको घरमा राजनैतिक वातावरण त हुने नै भयो तर बालक अरुणमा त्यसको कुनै प्रभाव परेन । बरु सानै उमेर देखि एक प्रकार को अब्यक्त र अबुझ खोजको लागि वहाँको हृदय तडपिन थाल्यो । बुवा बडाहाकिम हुनुहुँदा नेपालका सुन्दर कुना कन्दरामा घुम्दा प्रकृति र एकान्तको सानिध्यमा वहाँ खुब रमाउनुहुन्थ्यो । बालक उमेरमा सुदुर पश्चिम नेपालको कुनै जिल्लामा बुवा बडाहाकिम रहँदा आफू र बहिनी महाकाली नदिको किनारमा तीन दिन बस्दा जिवनकै आनन्ददायक समय बिताएको स्वामिजिले बताउनु हुँदा हामि अहिले पनि रोमान्चित हुन्छौँ ।

          आफ्नो स्कुलकालको शिक्षा र त्यस पछि बि. एस्सि. सम्मको अध्ययन स्वामिजिले काठमाडौँबाट पूरा गर्नुभयो । पाठकहरुलाइ आश्चर्य लाग्न सक्छसक्छ, कर्णाली जलबिधुत आयोजनाको लागि सयौं उच्च प्राबिधिक जनशक्ति उत्पादन गर्न भारत सरकारबाट उपलब्ध छात्रवृत्तिमा भारतको पटना बिश्वबिद्धालयमा इश्वी सन १९६९ मा इन्जिनियरिङ अध्ययन सुरु गरि सन १९७४ मा अध्ययन पूरा गरेर स्वामिजी नेपाल फर्कनु भएको अहिले करिब चालीस बर्ष पुग्न थालेको छ , तर कर्णाली आयोजनाले एक पाइला पनि बामे सर्न सकेको छैन । नेपालले एक सय बर्ष अगाडि सन १९११ तिरै फर्पिङ्ग आयोजनाबाट ५०० किलोवाट विद्युत उत्पादन सुरु गरि एसियामै जलविद्युत उत्पादन गर्ने प्रथम राष्ट्र बन्न पुगेको थियो तर त्यस पछाडिका सय बर्षमा नेपाली शासक र राजनितीज्ञहरुले हामी माथी गरेको चरम अत्याचारको यो भन्दा अर्को नमुना के हुन सक्ला कि चालीस बर्ष अगाडि सुरु भएको कर्णाली जलविद्युत आयोजना आज सम्म पनि पूरा हुन त परै जाओस बामे सर्न पनि सकेको छैन ।

          भारतमा हाल करिब एक लाख पचास हजार मेघावाट विद्युत उत्पादन भैरहेछ । आणबिक, थर्मल, जलविद्युत साथै ग्लोबल वार्मिङ्गवार्मिङ्गबाट बच्न आजकल हरित उर्जाको नामले चर्चित हावाबाट निस्कने विद्युत, सौर्य उर्जा इत्यादिमा पनि भारतले निकै प्रगती गरिरहेकोछ , त्यस्तै केही बर्ष अगाडि संसारकै गरिब राष्ट्रराष्ट्रको रुपमा नाम कमाएको भुटानले हाल करिब दुई हजार मेघावाट विद्युत उत्पादन गरेर आफुलाइ चाहिएको भन्दा बढी विद्युत भारतलाइ बिक्री गरि करिब दश प्रतिशतको आर्थिक विकाश दर हासिल गरिरहेको छ । अझ छिमेकी चिनको त के कुरा गर्ने, सन २०१० को अन्त सम्ममा नौ लाख मेघावाट विद्युत उत्पादन गर्ने क्षमता बनाइ सकेको तथ्यांकहरुले देखाएका छन ।

          यहि सन्दर्भमा मलाइ ओशो तपोबनले सन २००९ को दशैंको अवसरमा गैर आवासिय नेपालीहरुको लागि आयोजना गरेको एउटा कार्यक्रमको सम्झना आउँछ । सो कार्यक्रममा बोल्दै स्वामी आनन्द अरुणले भन्नू भएको थियो " जलश्रोतको दोश्रो धनी देश नेपालमा नेपाली जनताहरु पिउने पानी नपाएर पिडित छन भने अपार जलविद्युत उत्पादनको सम्भाब्यता भएर पनि टुकि र मैनबत्ती बालेर रात बिताउन बाध्य छन , यस्तो अवस्थामा औद्योगिक विकासको त के कुरा गर्नु , विद्युतबिना उधोग धन्दा सबै चौपट छन । आज विश्वका हरेक नागरिकहरुले नैसर्गिक अधिकार जस्तै बनिसकेको बिजुलिको मुहार दिनको एकपटक देख्न पनि हरेक दिन चौध पन्ध्र घन्टा कुर्नु पर्ने बाध्यताबाट नेपाली जनता आक्रान्त छन । म स्वयं करिब चालीस बर्ष अगाडि कर्णाली जलविद्युत आयोजनाको लागि भारत पढ्न गएँ । करिब पाँछ बर्षको पढाइ सकेर नेपाल आएँ तर आयोजना सुरु भएन । आज म आफ्नो पैँतिस बर्षको इन्जिनियरिङ्ग पेशाबाटै करिब रिटायरमेण्टको नजिक छु तर कर्णाली आयोजना एक पाइला पनि अगाडि सरेको छैन । सायद मेरो जिवनकालमा कर्णाली आयोजनाको बिजुली देख्ने सपना पनि अधुरै रहला कि ? केही गर्ने आँट भएको ब्यक्ती देशको नेतृत्वमा आए नेपाललाइ अन्धकारबाट उज्यालो तिर लान सक्ने थियो । " स्वामिजिको यी आद्र वचन सुनी त्यहा उपस्थित गैर आवासिय नेपालिहरुका अगुवा कार्यकर्ता उपेन्द्र महतोले कर्णाली परियोजनालाइ पूरा गरेरै छाड्ने वचन दिएका थिए । अब, यो अत्यन्त धमिलो राजनितिक दाउपेचले ग्रसित नेपाली उर्जाक्षेत्रलाइ चिरेर स्वामिजिलाइ दिएको वचन पूरा गर्न महतोजिले सक्छ्न वा सक्दैनन त्यो चाहिँ भबिष्यले नै बताउला ।

          कर्णाली आयोजना त कहिलै सुरु भएन तर सोही आयोजनाको लागि भनेर इन्जिनियरिङ्ग पढ्न पटना पुग्नु भएका बिद्यार्थी अरुण कुमार सिंहको जिवनमा नयाँ आध्यात्मिक अध्याय भने सुरु भयो । स्वामिजिलाइ सानैदेखी साधु सन्त र जोगिहरु प्रती आकर्षण थियो । आफ्नो आध्यात्मिक मुमुक्षा शान्त पार्न त्यस बखत भारतमा नाम चलेका गुरु महात्माहरु जस्तै आनन्दमुर्ती, महर्षी महेश योगि, शिवान्न्दजीशिवान्न्दजी आदि संग दीक्षा पनि लिनुभयो तर कोहि संग पनि आन्तरिक तारतम्य मिल्न सकिरहेको थिएन त्यसैले बिषादको स्थितिमा थियो तबसम्म , जबसम्म तत्कालिन समयमा आचार्य रजनिश भनेर बिख्यात सदगुरु ओशोले वहाँको जिवनमा पाइला टेक्नुभएन । आचार्य रजनिशको प्रथम दर्शनमैं वहाँ प्रती समर्पित हुनु भएपछी अरुण कुमार सिंहको जिवनमा आध्यात्मिक पखेटा लाग्यो । सन १९७४ मा सदगुरु ओशो संग दीक्षा लिएपछी अरुण कुमार सिंहको ओशोले नामाकरण गरिदिनुभयो, स्वामी आनन्द अरुण । सोही समयमा इन्जियरिङ्गको अध्ययन सिध्याइ स्वामी आनन्द अरुण नेपाल फर्कनु भयो दुइवटा लक्ष्य लिएर, एक- इन्जिनियर बनि नेपाल आमाको सेवा गर्ने र दोश्रो सदगुरु ओशोको सन्देशलाइ नेपालभर फैलाउने । स्वामिजिले सोही बर्ष आफ्नै घर ताहाचलमा आशिष ध्यान केन्द्र खोल्नु भयो , आफू नियमित ध्यान गर्न थाल्नु भयो । बिहान केन्द्रमा नियमित ध्यान , दिउँसो सरकारी स्वामित्वको निर्माण संस्थान एन. सि. सि. एन. मा इन्जिनियरको रुपमा कार्य गर्न थाल्नु भयो । साँझको समयमा सदगुरु ओशोको साहित्य लिएर काठमाडौँका सडकमा निस्कन थाल्नुभयो र जिज्ञासु मुमुक्षुहरु समक्ष सदगुरु ओशोको सन्देश पुर्याउन थाल्नु भयो साथै समय समयमा ध्यान शिविरको माध्यमबाट ओशोले परिकल्पना गर्नुभएको नयाँ मनुष्यको खोजिमा साधकहरुलाइ ओशो नव सन्यासमा दीक्षा पनि दिन थाल्नुभयो । यसरी भयो नेपालमा ओशो मुभमेण्टको सुरुवात ।

          पश्चिमा उपभोक्तावादी दर्शनबाट प्रभावित नेपाली सरकारी यन्त्रमा रहेर सदगुरु ओशोको आध्यात्मिक सन्देश जन जनमा पुर्याउने कार्य सहज नहुने ठानी करिब दस बर्षको सरकारी सेवाबाट राजिनामा दिइ स्वामिजिले आफ्नै इन्जिनियरिङ्ग कन्सल्टेन्सी खोल्नुभयो । त्यही कन्सल्टेन्सि नेपालमा ओशो आश्रम र ध्यान केन्द्रहरुको निर्मानमानिर्माणमा अत्यन्त सहयोगी हुन थाल्यो । साथै त्यही कन्सल्टेन्सिको कमाइको माध्यमले स्वामिजिले आफू  र आफ्ना आश्रीत परिवारलाई पाल्नुभयो साथै सदगुरु ओशोको सन्देश कार्यमा खटिनको लागि खर्च पनि जुटाउनुभयो । अहिले स्वामिजिको कन्सल्टेन्सिले नेपालका ओशो आश्रमहरुको निर्माण नियन्त्रकको भुमिका खेलिरहेको छ , अब यहाँ भनिरहनु नपर्ला कि स्वामिजी यस कार्यको केन्द्रमा हुनुहुन्छ ।

          ओशोले कल्पना गर्नुभएको नया मनुष्यको नाम हो, जोर्बा दि बुद्ध । ग्रीक उपन्यासकार कजान जाकिसले एउटा प्रसिद्ध पुस्तक लेखेका छन जसको नाम छ , जोर्बा दि ग्रीक । जसमा जोर्बा भन्ने पात्र स्वयं त्यति धनी नभए पनि उसले जे पाउँछ त्यसमा मस्त हुन्छ , खान्छ , पिउँछ , नाच्छ , मस्तिमा जिउँछ । ओशोले आफ्नो नयाँ मनुष्य त्यही पात्रबाट लिनु भएको छ, ओशो भन्नुहुन्छ " मात्र जोर्बालाइ हेर्ने हो भने उ अधुरो छ किनकी मस्ती संग जीवन जिउने कला भए पनि ध्यान छैन , होस छैन । होस बिनाको मनुष्य भनेको जनावर जस्तै हो । होस ध्यानबाट मात्र सम्भव छ , त्यसैले म जोर्बा संंग बुद्धलाइ जोड्न चाहन्छु । जोर्बा - जिवनको प्रतीक , बुद्ध - ध्यानको प्रतिक । यस्तो नयाँ मनुष्यले मात्रै समाजलाइ केही दिन सक्नेछ । "

          परमात्माको कृपाले स्वामी आनन्द अरुणज्युको सानिध्यमा रहने मौका पाएका म लगाएतका मित्रहरुको अनुभव यो छ कि सदगुरु ओशोको नयाँ मनुष्य - जोर्बा दि बुद्धले स्वामिजिमा आएर साकार रुप लिएको छ ।


जय ओशो ! जय अरुण स्वामिजी !!
       



Saturday, May 5, 2018

शिवपुरी बाबालाई फेरि सम्झँदा- स्वामी आनन्द अरुण


सन् १९२६ मा हिमालय पार गरेर तिब्बतबाट  सय वर्षको उमेरमा परमात्माबोध भएका एक साधु नेपाल पसे। उनको भनाई थियो– नेपाल तपोभूमि हो। त्यसैले यहाँ संसारभरका व्यक्ति खोज गर्न आइरहेका छन्, भविष्यमा पनि आउनेछन्। ती व्यक्ति शिवपुुरी डाँडामा धेरै वर्ष तपस्यामा बसेको हुनाले उनलाई शिवपुरीबाबा भनेर बोलाउन थालियो। तर, उहाँको संन्यास नाम भने गाविन्दानन्द भारती हो। जीवनको अन्तिम केही वर्ष पशुपति धु्रवस्थली वनमा उहाँ बस्नुभयो। म आफ्नो बुबाआमासँग १९५० देखि नै काठमाडौंमा बस्दै आइरहेको छु। बच्चादेखि नै ममा साधुसन्तप्रति आकर्षण थियो। तर, पनि मैले शिवपुरा बाबा जीवित हुँदासम्म पनि उहाँबारे कुनै जानकारी पाइनँ। जब मैले आफ्नो गुरु ओशोसँग विधिवत संन्यास दीक्षा पाएँ। उहाँले मलाई नेपाल गएर आश्रम चलाउने आज्ञा दिनुभयो। उहाँले नै मलाई शिवपुरी बाबाबारे जानकारी दिनुभएको थियो। ‘पशुपति नजिक एयरपोर्टकै छेउ सैन्य क्याम्पको क्षेत्रभित्र तारबारले घेरिएको शिवपुरी बाबाको समाधि मन्दिर छ। त्यहाँ बेलाबेला गइरहनु, तिमीलाई धेरै फाइदा हुन्छ,’ उहाँले भन्नुभएको थियो। १९७४ यता म त्यो मन्दिरमा गइरहेको छु। पहिला म त्यहाँ प्रत्येक हप्ता जाने गर्थें। तर, तपोवन बनाइसकेपछि हामीले बाबाको सम्मानमा एक सानो स्मृति मन्दिर बनायौं। जहाँ म लगायत तपोवन आउने सबै मित्रहरू शिवपुरी बाबाको उपस्थितिको गहिरो अनुभूति गर्छन्।


शिवपुरी बाबाले ख्याति र प्रसिद्धि कहिल्यै मन पराउनु भएन। गहिरो प्यास र मुमुक्षा नभएकाहरूलाई उहाँ भेट्न रुचाउनु हुँदैनथ्यो । यहाँसम्म की उहाँ आफ्नो तस्बिर खिँचाउन समेत मान्नुहुँदैन्थ्यो। कसैले उहाँको अनुमतिबिना तस्बिर खिच्यो भने पनि त्यो क्यामेराको रिलमा देखिँदैनथ्यो। कसैलाई आफ्नो तस्बिर खिच्ने अनुमति दिनुभयो भने पनि त्यो तस्विर ध्यान कक्षबाहेक अरु कतै नराख्नु अरुलाई नदिनु, नदेखाउनु भन्नुहुन्थ्यो। उहाँ आफ्नै आत्मआनन्दमा मग्न हुनुहुन्थ्यो।
हरेक सन्त पुरुषको शैली फरकफरक हुन्छ । ओशो त्यसविपरित हरेक पुस्तकमा आफ्नो फोटोहरू राख्नुहुन्थ्यो। ‘जति मानिस कहाँ मेरो सन्देश पु-याउन सक्छौ पु-याऊ’ भनेर हामीलाई झक्झकाइ रहनुहुन्थ्यो। यसै कारण आज आफ्नो उमेरका बापजुत पनि विश्वभरि उहाँकै सन्देश लिएर म यात्रा गरिरहेको छु। सबै सन्त पुरुषहरू अनुपम हुन्छन्। एकको तौरतरिकाबाट अर्कोलाई बुझ्नै सकिँदैन। बाहिरबाट हेर्दा उहाँहरूको कार्यशैली एकदमै विरोधाभासी देखिए पनि भित्र एक गहन अन्तर्सम्बन्ध हुन्छ । र, एक–अर्काको कार्यमा उहाँहरूले गहिरो सहयोग गरिरहनु भएको हुन्छ भन्ने कुरा बिस्तारै मैले बुझ्दै आएको छु।
शिवपुरी बाबासँग मेरो गहिरो आत्मिय सम्बन्ध छ। ४३ वर्षदेखि नै उहाँको शिक्षणलाई पढ्ने, सुन्ने र अभ्यास तथा पालन गर्ने प्रयास गर्दै आएको छु । तपोवनको स्थापनादेखि तपोवनको संचालनसम्म उहाँको सक्रिय योगदान छ। मैले त्यो अनुभव गरेको छु। मैले बुझेसम्म सबै बुद्ध पुरुषहरूको एक सामूहिक प्रयास हुन्छ। उनीहरूको जीवन पद्धति, शिक्षण तथा देश, काल र परिस्थिति अनुसार फरक–फरक भए पनि सच्चा सद्गुरुले एक–अर्कालाई सहयोग गर्छन्। जिसस, मोहम्मद, कृष्ण शिवपुरी बाबा, ओशोको मानिसको चेतनालाई रूपान्तरण गर्ने प्रयास एकै हुन्छ। साधनामा मैले यो गहिरो अनुभूति पाएको छु। उनीहरूका चेलाहरू मात्रै एक–आपसमा लड्छन्। मुर्खतावश उनीहरूलाई लाग्छ कि मेरो गुरु ठूलो, मेरो गुरु राम्रो। तर, सबै बुद्ध पुरुषहरूको एक समग्र प्रयास छ। कसरी मानिसलाई सुखी बनाउने ? कसरी मानिसलाई दुःखबाट मुक्त गर्ने? संभावना भएका व्यक्तिहरूलाई कसरी स्वयम्को बोधमार्गमा प्रवेश गराउने । यो कार्यमा सबै गुरुहरू सम्मिलित हुन्छन्। तर, उनीहरूलाई मान्ने चेलाहरू भने यो कुरा मान्दैनन् । र, यसविरुद्ध सधै लड्न तयार हुन्छन्।
शिवपुरी बाबालाई शरीर छोड्ने बेलामा सोधिएको थियो– ‘तपार्इं हामीलाई छोडेर जाँदै हुनुहुन्छ, अब हामीलाई कसले मार्गदर्शन दिन्छ ?’ शिवपुरीबाबाले भन्नुभयो, ‘अर्को सम्बुद्ध गुरु पनि आउन सक्छ।’ उहाँको संकेत ओशोतिर पनि हुनसक्छ किनभने नेपालमा सबैभन्दा सशक्त रूपले ओशोको दर्शन फस्टाइरहेको छ। तिमीहरूमा श्रद्धा छ भने म स्वप्नमा आएर पनि मार्गदर्शन गर्न सक्छु । जागृत अवस्थामा हाम्रो चेतन मन सक्रिय हुन्छ। र, विचारले भरिएको हुन्छ। त्यसकारण जब साधकको चेतन मन सुत्छ, सद्गुरुलाई साधकको तुलनात्मक रूपमा निर्दोष अचेतन मनसँग संवाद गर्न सजिलो हुन्छ।’ हाम्रो संस्कृतिमा स्वप्नमा गुरुबाट पाइने मार्गदर्शनलाई स्वप्न आदेशकै रूपमा मान्ने प्रचलन छ । मान्यता छ– उहाँको इच्छाबिना गुरु र ईश्वरलाई हामी स्वप्नमा बोलाउन सक्दैनौं। तर, गुरु वा दैवी चेतनाले हामीमा त्यस्ता सन्देश सम्पे्रषण गर्न सक्छन्, जसलाई ‘भिजन’ भनिन्छ। यस्तै सन् १९७५ देखि आवश्यक परेको बेलामा मैले शिवपुरी बाबाको कृपाबाट उहाँको स्वप्न आदेशहरू निरन्तर पाइरहेको छु। हुनत मैले बाबाको दर्शन गर्ने मौका त पाएको छैन।
म दरबार स्कुलमा पढथें । पढाइमा मन लाग्दैनथ्यो। बेलाबेलामा पशुपतिको वनले तान्थ्यो। कहिले साथीसँग त कहिले एक्लै पनि म त्यहाँ पुग्थें। त्यहाँ कसैको उपस्थितिले आफूलाई निरन्तर आर्कषण गरेको महशुस हुन्थ्यो । कक्षा ३/४ मा पढ्दै गरेकाले मलाई त्यसको स्पष्टबोध पनि भएन। त्यो वनमा मभित्र एक शान्ति छाएको आभाष हुन्थ्यो । गुरुहरूको दर्शन गर्न पनि एक सौभाग्यको घडी आउनु पर्छ। सच्चा सद्गुरुको दर्शनका लागि पुण्य चाहिँदो रहेछ । सायद यही कारणले मैले उहाँको सशरीर दर्शन पाउन सकिनँ। तर, ओशोबाट दीक्षा लिएपछि उहाँले नै शिवपुरी बाबाको समाधि दर्शन गर्न जाने प्रेरणा दिनुभयो । र, बाबास“ग एक आत्मिय सम्बन्ध जुड्यो, आर्शिवाद मिल्यो।
सबै बुद्ध पुरुषहरू आफैमा विलक्षण हुन्छन्। एउटा बुद्ध पुरुषको मापदण्डबाट अर्को बुद्ध पुरुषलाई नाप्नुभयो भने तपाईंले धोका खानुहुनेछ। बुझ्नै सक्नुहुन्न। यसैमा सबै गुरुका भ्रमित भइरहेको देखिन्छ। भक्तहरूमा आफ्नो धर्मको लागि, गुरुको लागि, ग्रन्थको लागि, दर्शनको लागि लड्ने तथा भिड्ने प्रवृति समझको कमी पनि बेहोसीकै अंश हो। ओशोले हामीलाई सबै गुरुहरूको धर्मको सार्वभौमिक सत्यलाई बुझ्ने समग्र र विशाल दृष्टि दिनुभयो। ओशोले परस्पर विरोधी विचारहरूलाई संश्लेषण गरी समस्वरतामा जिउने कला सिकाउनुभयो । ओशो भौतिक समृद्धिको पनि पक्षपाती हुनुहुन्थ्यो । उहाँ स्वयम्ले पनि सुविधापूर्ण जीवन जिउनुभयो। र, हामीलाई साधनाको लागि शरीरलाई कष्ट दिने, गलाउने स्वपीडक प्रवृतिलाई त्याग्न सिकाउनुभयो । सुख र सुविधापूर्ण माहोलमा अहोभावले कुनै मोह नराखी साधना गर्ने शिक्षण दिनुभयो। समस्या मनमा छ, शरीरलाई सताएर मन मर्दैन भन्दै उहाँ मनलाई अनुशासित गर्ने कला सम्झाउनुहुन्थ्यो। 
अहिले शिवपुरी बाबाको दर्शन पाउने व्यक्तिहरू धेरै कम जीवित छन्। तर, उहाँको उपेदशमा जिउने व्यक्तिहरूको संख्या काठमाडौंमा बढ्दो छ। बाबाको समाधिमा गएर ध्यान गर्ने साधकहरूको संख्या पनि राम्रै छ। आदरणीय रेणुलालजी र ठाकुरलाल मानन्धरले गर्दा शिवपुरी बाबाका शिष्यहरू पनि बारम्बार ओशो आशीष आश्रममा आउँथे। रेणुलालजी र ठाकुरलालजी पनि शिवपुरी बाबाकै स्वप्न आदेशकै कारणले ताहाचलमा अवस्थित ओशो आश्रममा आउनुहुन्थ्यो। उहाँहरू ओशोलाई सुन्नुहुन्थ्यो, पढ्नुहुन्थ्यो र प्रेम गर्नुहुन्थ्यो। तर, उहाँहरू ओशोलाई दर्शन जानुभएन। म वर्षमा ४/५ चोटि पुनास्थित ओशोको दर्शनका लागि जान्थे । र, उहाँहरूलाई पनि सँगै जाने निमन्त्रण दिन्थें । तर, उहाँमा त्यो संयोग जुटेन । ओशो काठमाडौंमा आएको बेला पनि त्यसो हुन सकेन । आफ्नो गुरु हुँदाहुँदै अरुकहाँ किन जाने भन्ने तर्क उहाँहरूको थियो। मैले ओशोलाई ‘तपाईंलाई काठमाडौंमा प्रेम गर्ने शिवपुरी भक्तहरू छन्। उहाँहरू तपाईंकहाँ आउनुभयो भने आफ्नो गुरुप्रति अवज्ञा गरेको हुन्छ भन्ने ठान्नुहुन्छ। के यो सत्य हो ?’ भनेर सोधेको थिएँ। ओशोले आफ्नो प्रवचनमा भन्नुभयो, ‘उनीहरूलाई भन्देऊ कि आफ्नो प्रार्थनामा आफ्नै गुरुलाई सोधे हुन्छ। हाम्रो एउटै काम हो, यदि उनीहरू यहा“ आउदैनन् भने त्यो उनीहरूको आफ्नै गुरुको अवज्ञा हुन्छ। त्यो क्यासेट मैले शिवपुरी बाबाका सबै भक्तहरूलाई सुनाएँ । त्यस प्रवचनमा शिवपुरी बाबाको प्रशंसा गरेको कुरा सबैले रुचाए। तर, ओशोको दर्शन गर्ने कुरा उहाँहरूले पचाउन सक्नुभएन। त्यसमा म कसैको दोष पनि देख्दिनँ। नांगो सत्यलाई सुन्नलाई नै धेरै साहस चाहिन्छ। त्यसलाई मान्न र पालन गर्न त लगभग असंभवै हुन्छ।
शिवपुरी बाबाको जीवनमा अनेक विलक्षण घटनाहरू छन्। त्यसमध्ये दुई घटनाहरू यहा“ वर्णन गर्न चाहान्छु। बाबा माथि शिवपुरी डाँडामा बस्नुहुन्थ्यो । सन्ध्याकालमा एक योगी आश्रमको गेटमा देखिनुहुन्थ्यो । आश्रमका माधव बाजे, जो बाबाका सेवक हुनुहुन्थ्यो, उहाँलाई आश्चर्य लाग्थ्यो। ‘अरुलाई समय नदिने बाबाले यी जोगीलाई किन रातभरी समय दिएको होला ?’ माधव बाजे सोच्नुहुन्थ्यो। रातभरिको बाबास“गको वार्तालाभपछि बिहानी प्रहरमा योगी कतै जानुहुन्थ्यो। यो क्रम धेरै दिनसम्म चल्यो। एक दिन माधव बाजेलाई बोलाएर शिवपुरी बाबाले आज्ञा दिनुभयो, ‘यी योगीलाई तलसम्म पु-याएर आऊ।’ माधव बाजेलाई आश्चर्य लाग्यो। बाबाबाट यस्तो आज्ञा सामान्यतः हुँदैन्थ्यो। ती योगी र माधव बाजे कुरा गर्दै तल झरे। वार्तालापकै क्रममा योगीले माधव बाजेलाई भन्नुभयो, ‘तपाईं खुब भाग्यमानी हुनुहुन्छ। परमात्मासँग साक्षात्कार गरेको व्यक्ति संसारमा विरलै हुन्छन्। यस्तो व्यक्तिको सत्संगमा बसिरहनुभएको छ।’
उहाँले अगाडि भन्नुभयो, ‘म उहाँसँग शिक्षण लिन आउँथें । अब मेरो शिक्षण पूरा भयो। म उहाँले सिकाएको बाटोमा लागेर मोक्ष पाउँछु । हाम्रो यो अन्तिम भेट हो । त्यसकारण तपाईंलाई पनि धन्यवाद छ।’ यसरी डाँडाबाट सँगै तल झर्दै उहाँहरू बुढानिलकण्ठ पुग्नुभयो । माधव बाजे बोल्दै हुनुहुन्थ्यो। तर, पछाडि फर्केर हेर्दा ती जोगी अलोप भइसकेका रहेछन् । माधव बाजेलाई आश्चर्य लाग्यो– जोगी कता विलिन भए ? माधव बाजे फर्केर माथि पुग्नुभयो । र, सबै वृत्तान्त शिवपुरी बाबालाई सुनाउनुभयो। बाबाले भन्नुभयो, ‘तिमी भाग्यशाली छौं । ती ऋषि सामान्य व्यक्ति होइनन्। ती साक्षात् विश्वामित्र हुनुहुन्थ्यो ।’ माधव बाजेको आश्चर्यको सीमै रहेन । विश्वामित्र अहिलेसम्म शरीरमा ? रामको गुरु अहिलेसम्म शरीरमा ? अनि बाबाले भन्नुभयो, ‘हो अहिलेसम्म शरीरमा। उहाँले ठीक गुरु पाउन भएन । सही मार्गदर्शन पाउनुभएन । सिद्धीहरूका पछाडि लाग्नुभयो । आफ्नो शिष्य त्रिशंकुको लागि उहाँ आफ्नो तपोवलबाट अर्को स्वर्गलोककै निर्माण गर्नुभयो । यस्तो शक्ति साधकमा आउन सक्छ। तर, यसको प्रयोग र प्रदर्शन गर्नुहुँदैन। यस्तो प्रयोगले यति लामो समय बितिसक्दा पनि अहिलेसम्म पनि मुक्ति पाउन सक्नुभएन। यही शरीरमै भटकीरहनुभयो। उनले म यहा“ भएको थाहा पाएछन् । महिनाभरि उनी यहाँ आए । र, मैले उनलाई शिक्षण दिएँ । अब उहाँ ब्रह्मनिष्ठ हुनुहुन्छ, अब मुक्ति पाउनुहुन्छ। जोगीलाई सहर बजार र भीड मन पर्दैन त्यसकारण बुढानिलकण्ठ पुगेपछि उहाँ लुप्त हुनुभयो ।’ यस्ता घटनामा विश्वास गर्न पनि गा-हो हुन्छ । तर, परमात्मासँग साक्षात्कार भएका व्यक्तिको आसपास यस्तो घटना घटिरहेको हुन्छ। ओशोको आसपास पनि यस्ता घटनाहरू घटिरहन्थे। त्यसको वर्णन म अरु कुनै लेखमा गरौंला।
शिवपुरी बाबाका निकटतम शिष्य रेणुलाल र सेवक माधव बाजेसँग मेरो अन्तरंग सम्बन्ध थियो। म उहाँहरूप्रति कृतज्ञ र ऋणी छु । उहाँहरूले मलाई असीम माया गर्नुभयो । उहाँहरूले बताउनुहुन्थ्यो– झन्डै ३० वर्ष उमेरका एक तेजस्वी युवक बाबालाई भेट्न आउनुहुन्थ्यो । ती युवक एकाबिहानै कतै गायव हुनुहुन्थ्यो। र, बेलुका देखा पर्नुहुन्थ्यो । बाबा उनीसँग एक्लै रातभरि कुरा गर्नुहुन्थ्यो । यो क्रम एक हप्तासम्म चल्यो । तर, अन्तिम रात उनी आँखाभरि आँसु लिएर भावविभोर भई ती जोगीले जाने बेलामा माधव बाजेलाई भने, ‘अब यस आश्रममा यो मेरो अन्तिम रात्रि हो। साधनाको लागि गढवाल हिमालय जाँदैछु । हरिद्वार पुगेर म तपाईंलाई एक पोस्टकार्ड लेख्ने छु। बाबालाई मेरो नमन सुनाइदिनु होला । तर, जवाफ नपठाउनुहोला किनभने म हिमालयमा तपस्यारत भइसकेको हुनेछु । साच्चै नै एक महिनापछि हरिद्वारबाट एक पोस्टकार्ड आयो । माधज बाजेले बाबालाई त्यो देखाउनुभयो । बाबा खाली मुस्काउनु भयो।
ती व्यक्ति हँसिलो र खुला मिजासका थिए। मैले उनी कुन कारणले बाबालाई भेट्न आएको भनेर सोध्दा उनले पहिला त केही बताउन चाहेनन्। तर, फेरि कुराकानी बढ्दै गयो । र, उनले भने, ‘हेर तिमी यस्तो महान आत्माको सेवामा समर्पित छौं यो ठूलो सौभाग्य हो। म धेरै पुरानो साधु हुँ । तर, तिमीलाई बुझ्न कठिन लाग्ला लामो समयसम्म बाँच्नु पनि ठिक होइन । भगवत्साक्षात्कार भन्दा अरु रूप, धन, इज्जत, आयु जे भए पनि त्यसको कुनै महत्व छैन । मैले सच्चा गुरु पाउन सकिनँ। मैले जुन गुरु भेट्टाएँ, उनले मलाई दीर्घायू प्राप्त गर्ने गुह्य विद्या सिकाए, अज्ञानवश त्यो सिद्धीलाई मैले त्यसबेला सहर्ष स्वीकार गरें । तिमीले मेरो युवा शरीर देखे पनि म हजार वर्षदेखि यही शरीरमा छु । म शरीरबाट मुक्त हुन चाहान्छु । गुरुले भन्नुभएको थियो– ‘यदि तिमीले शरीरबाट मुक्ति पाउनु छ भने यो विद्या कुनै योग्य व्यक्तिलाई दिएपछि मात्र तिमी शरीरबाट मुक्त हुन सक्छौं । मैले लामो जीवन जिएँ । तर, म थाकिसकेको छु । म यसबाट मुक्ति पाउन चाहान्छु र निर्वाण प्राप्त गर्न चाहान्छु । मैले एक दिन ध्यानमा बाबालाई देखें । र, बाबाले मलाई यो दुःखबाट मुक्त गराइदिनुहुन्छ भन्ने ठूलो आशाले म यहाँ आएँ । र, यो विद्या बाबालाई दिन खोज्दा उहाँले अस्वीकार गरिदिनुभयो । यस्ता सिद्धीहरु भगवत् साक्षात्कारको मार्गमा ठूलो बाधा हुन्छन्।’ भन्नुभयो । ‘मैले उहा“बाट अब उचित शिक्षा लिएँ । यो संसारमा मुक्तिबाहेक जस्तोसुकै सिद्धी, समृद्धि र सम्मानले चिजले दुःख ल्याउँदो रहेछ।’
जसरी फासी चढाउन लागेको व्यक्तिको मिठो खाने र मिठो लाउने अन्तिम इच्छा पूरा गरिन्छ। त्यस्तै यो संसारमा पनि मानिसहरू फासी नै चढ्न गइरहेका छन्। काम, महत्वकांक्षा, धन, मान जस्ता कुराहरू मानिस फासी लाग्नुभन्दा अघिका अन्तिम भोजनजस्तै हुन्। बाबाले भन्नुभयो, ‘यो संसारमा आत्मबोध सिवाय अरु केही चिज पाउन योग्य छैन। स–साना यस्ता प्रलोभनमा नफस्न सम्झाउँदै साधनामा लाग्ने सल्लाह दिनुभयो। र, विश्वास दिलाउनुभयो कि यो विद्या लिन उचित समय, उचित स्थानमा उचित व्यक्ति आफै आइपुग्छ भन्नुभयो। बाबाको सत्संगबाट मैले के गर्नुपर्छ भन्ने बल्ल बुझें।’
ओशोले भन्नुभएको छ–  ‘बाहिरबाट जे पनि प्राप्त हुन्छ अनन्तः त्यो सबै दुःखमै परिणत हुन्छ । सच्चा सुख आफैभित्र छ । र, स्वयम्भित्र नगई त्यो प्राप्त हुँदैन ।’

शनिबार, २२ बैशाख २०७५
नागरिक दैनिक


ओशोले सिकाएको जीवन

ओशो रजनीशको वास्तविक नाम चन्द्रमोहन जैन हो । उनी ११ डिसेम्बर १९३१ मा भारतको मध्यप्रदेशमा जन्मेका थिए । उनी दार्शनिकका रूपमा विश्वभर परिच...