Friday, May 18, 2018

दिल खोलेर हासौं - स्वामी आनन्द अर्हत


तपोवनमा नियमित ध्यान गर्न आउने एक महिला सन्न्यासी थिइन्। खुसीमा रमाइरहेका हामीले एक दिन उनको मुहारमा हाँस्न खोजे पनि हाँसो फुट्न नसकिरहेको देख्यौं। सहजै हाँसो लाग्ने कुरामा पनि उनी हाँस्न खोजेजस्तो पनि गर्थिन् तर कताकता संकोच छाइहाल्थ्यो। त्यस्तो अन्यमनस्क स्थिति देखेर सोध्दा उनले भनिन्, ‘आजै एन्टिरिन्कल फेसियल गरेर आएकी, थेरापिस्टले नहाँस्नु भनेको छ, अनुहार बिग्रिन्छ रे।’ सुन्नेजति तीन छक पर्‍यौं। विगतमा उनको मुहारमा भएका १५ प्रकारमा मांसपेसीको नृत्यमा चढ्ने हाँसोले जुन कान्ति छथ्र्यो अहिले त्यो बिदा भएको थियो। सायद गम्भीर भएर सुन्दर हुन खोज्ने मनुष्यको यो पुरानै रोग हो।
अमेरिकामा सात हजार मानिसमा गरिएको सर्वेक्षणमा ८७ प्रतिशतले पहिलोचोटि कसैले हाँसेर भेट्दा सबैभन्दा मित्रवत् व्यवहार भएको ठान्दा रहेछन्। भर्खरै जन्मिएको शिशुले पनि केही महिनापछि आमाबाबुको खुसीको हाउभाउको जवाफ हाँसेर दिन थाल्छ। स्कुले जीवन पूरा भएको दशकौं बित्दा पनि सबैभन्दा ह“समुख दयालु वा अत्यन्त कडा र गम्भीर शिक्षकका अनुहार सम्झनामा रहिरहन्छ। हाँसो र रोदन मानिसका सबैभन्दा ठूला भाव हुन्, जुन विशेष भावनात्मक परिस्थितिमा सहजै व्यक्त हुन्छन्। हाँसोको ठूलो सम्भावना र गुण यसको पैmलिने स्वभाव हो। अध्ययनहरूले बताएअनुसार २० सेकेन्डको उन्मुक्त हाँसो १० मिनेटको शारीरिक अभ्यास समान हो।
हाँसो फैलिने ऊर्जा हो भने यसको विपरीत चिन्ता र भयले ऊर्जा खुम्च्याउँछन्। स्नायु मनोविज्ञानअनुसार हाँसोले मस्तिष्कको केन्द्रलाई जगाउ“छ। त्यसले अन्य जटिल क्रियाकलापमा भाग लिने मस्तिष्कका अन्य केन्द्रलाई पनि सकारात्मक संवेगले जोड्छ। यसबाट एक आरामदायी, आत्मविश्वास तथा तनावमुक्त वातावरण बन्न थाल्छ। गम्भीर माहोल यसै पनि दुःखदायी हुन्छ। गम्भीरता अहंकारबाट जन्मिन्छ। हाँसो र आद्रता भने जीवन ऊर्जाको सहज अभिव्यक्ति हुन्। ती निर्दोष र मंगलकारी हुन्छन्।
यो संसार चलाउने सबै गम्भीर भएकैले आज सबैतिर गम्भीरता छाएको छ। हाम्रो शिक्षा प्रणाली गम्भीर छ। शिक्षक गम्भीर छन्। राजनेता गम्भीर छन्। मानिसको भित्री सम्भावना नबुझेका धर्मसम्प्रदाय भयग्रस्त धर्मभीरु जनसमुदायलाई स्वर्ग र नर्कको परिभाषा पिलाउन गम्भीर छन्। खासमा मानिसको हरेक कोषिकामा गम्भीरताको मधुमेह चढेको छ।
आज हाँसो कठिन बनेको छ। कुनै बेला एक साहुको घरमा बाबुले खाएको ऋण तिर्न पेट पाल्ने चिन्ताबाट मुक्त भई कमैया बनेर बसेको छोरालाई हाँस्न गाह्रो थियो। ३०–३५ वर्षका लागि घर, इन्टरनेट, स्मार्टफोनको कर्जा लिएर मासिक ऋण तिर्ने व्यवस्थामा अल्झिएको आजको आधुनिक कमैयालाई हाँसो त्योभन्दा कठिन बनेको छ। जीवनको महत्वपूर्ण समय ऋणमोचन खेर फालेको मानिसले जीवनको सीमितता देखेपछि सबथोक भ्याउन जीवनको गति तीव्र बनाउन खोज्छ। बाहिर जति गम्भीर भएर दौड्न खोज्छ र त्यसलाई धान्न उसभित्रको जैविक स्नायु पनि छिटोछिटो चल्न थाल्छ। यसरी बाहिरको हतारो, शरीरको रगतमा दबाब, श्वासको भारीपन, कोषिकाको कठोरता आदिले नकारात्मक विचार बढाउँदै लैजान्छ।
एक जेन गुरुलाई एक व्यक्तिले कसरी सुखी हुने भनेर सोधेछन्। गुरुले जवाफ दिएछन्, अहिले नै सुखी होऊ। गुरुबाट लामो प्रवचनको आशा राखेका शिष्य अवाक् भए। हामीलाई पनि यी गुरुको यो जवाफ अव्यावहारिक लाग्न सक्छ। तर भविष्यमा कतै सुख छ भनेर आजसम्म कुनै दार्शनिकले प्रमाणित गरेको छैन। भविष्य त अनिश्चित छ। सोचेको जस्तो हुँदा सुख भएको आभास हुने र नहुँदा दुःखी हुने मात्र हो। वास्तविक सुख एक अनुभव हो। सुख त्यस्तो स्थितिको अनुभव हो, जतिबेला शारीरिक, मानसिक र भावनात्मक सबै स्तरमा एक निद्र्वन्द्व ऊर्जाको प्रवाहले उत्पन्न हुन्छ। जेन गुरुको आशय पनि यही अवस्थामा फर्क भन्ने हो। मनको कल्पना गर्ने क्षमताका कारण आशा र सपनामा सुख हुन्छ भन्ने ख्याल मात्र हो। सपनामा जति उडे पनि विपनामा हेर्दा टाउको सिरानीमै पल्टेको हुन्छ। सपना देखिन्जेल सपना सपनाजस्तो लाग्दैन। निद्रा खुलेपछि घरको कोठा, खाटलाई नै वास्तविकता मान्नैपर्छ। त्यसैले भविष्यको कल्पनामा जति रमाए पनि वर्तमानलाई यथार्थको रूपमा आलिंगन गर्ने कला सिक्न आफैंभित्र प्रवेश गर्नैपर्छ। प्रत्येक दिन अभ्यासका रूपमा थोरै समयका लागि भए पनि आफूतिर फर्किनैपर्छ।
हरेक सेकेन्डमा एक विचार चल्ने मनको के ठेगान ? चौबीस घन्टामा करिब ७२ हजार चल्ने विचारमध्ये २–३ प्रतिशत विचार मात्रै नयाँ हुन्छन्। सबै पुनरुत्ति भइरहेका कुन विचार वास्तवमा नै आफ्नै हुन्, कसले निर्णय गर्ने ? यो निर्णय गर्ने सामथ्र्य गम्भीर र हतारिएको मनमा हु“दैन। मन शान्त भएपछि आफ्ना लागि अर्थपूर्ण निर्णय गर्ने सुझ स्वतः पलाउँदै जान्छ।
मानिस सकारात्मक हुनै पर्दैन, सकारात्मकता शान्तिको छायाँ हो। हिजोको मानिस बीउविजन, खेती गर्ने पानीका लागि चिन्तित थियो भने आजको मानिस घरमा बसीबसी विश्वका सबै समस्याले अशान्त र चिन्तित छ। त्यसैले सामाजिक सञ्जालमा कहिल्यै नदेखेका नभेटेको टाढाका व्यक्तिहरूलाई मित्र बनाई छिमेकीस“ग मुस्काउन बिर्सने जीवनचर्याको फन्दाबाट बचौं। आफैंलाई शान्त राख्ने र आफैंभित्र विराजमान मित्र मनलाई पनि ‘लाइक’ क्लिक गर्ने कला सिकौं। बाहिरी फेसबुकबाट अरूको फेसमात्र होइन, भित्र आफ्नो ‘ओरिजिनल फेस’ (अन्तरआत्मा) लाई पनि चिन्न सिकौं।
आजभन्दा पाँच हजार वर्षअघि चिनियाँहरूले आफ्ना ग्रन्थमा पतिले पत्नीलाई, पत्नीले पतिलाई नटेरेको, छोराले बाबुको कुरा नसुनेको, समाज चलाउनेहरू र न्याय दिनेहरू भ्रष्ट भएको गुनासो गर्दै समाजका समस्याको लामो फेहरिस्त समेटेका छन्। यो संसारका सबै समस्या आजसम्म कसैले समाधान गर्न सकेको छैन। समस्याको न्यूनीकरण व्यक्ति स्वयम्बाट सुरु हुन्छ। गम्भीर हुन जीवनमा धेरै तानाबाना बुन्नुपर्छ, तर मुस्कुराउन केही चाहिँदैन। त्यसैले नहाँस्नुभन्दा हाँस्न धेरै सजिलो छ। सधैं याद राख्नुस्, यो अस्तित्वलाई तपाईंको गम्भीरताको केही मतलब छैन। हो, तपाईं आल्हादित भएर मुस्काउनुभयो भने यो जगतै तपाईंसँगै हुनेछ।
०८ बैशाख २०७५ Annapurna Post

No comments:

Post a Comment

ओशोले सिकाएको जीवन

ओशो रजनीशको वास्तविक नाम चन्द्रमोहन जैन हो । उनी ११ डिसेम्बर १९३१ मा भारतको मध्यप्रदेशमा जन्मेका थिए । उनी दार्शनिकका रूपमा विश्वभर परिच...