- बिजय कुमार
१) वैशाखको पूणिर्मा एक महासंयोग हो । राजकुमार सिद्धार्थ वैशाख पूणिर्माका दिन लुम्बिनीमा जन्मे । वैशाख पूणिर्माकै दिन उनले बोधगयामा बुद्धत्व प्राप्त गरे । र, जुन दिन बुद्धले कुशीनगरमा शरीर त्याग गरे, त्यो दिन पनि वैशाख पूणिर्मा नै थियो ! गौतमको जीवनसित अभिभाज्य रूपले गाँसिएको छ, वैशाखको पूर्णचन्द्र । नेपालमा यो दिनलाई बुद्ध जयन्ती भनेर मनाइन्छ । सगरमाथाझैं बुद्ध पनि नेपाली चिनारीका प्रतीक हुन् । संसारका कतिपय यस्ता स्थानमा म पुगें, जहाँ मानिसले नेपाल सुनेका थिएनन् तर 'बुद्ध' र 'एभरेस्ट' को देश भन्नेबित्तिकै तिनको मुहारमा मुस्कान आयो ।
१) वैशाखको पूणिर्मा एक महासंयोग हो । राजकुमार सिद्धार्थ वैशाख पूणिर्माका दिन लुम्बिनीमा जन्मे । वैशाख पूणिर्माकै दिन उनले बोधगयामा बुद्धत्व प्राप्त गरे । र, जुन दिन बुद्धले कुशीनगरमा शरीर त्याग गरे, त्यो दिन पनि वैशाख पूणिर्मा नै थियो ! गौतमको जीवनसित अभिभाज्य रूपले गाँसिएको छ, वैशाखको पूर्णचन्द्र । नेपालमा यो दिनलाई बुद्ध जयन्ती भनेर मनाइन्छ । सगरमाथाझैं बुद्ध पनि नेपाली चिनारीका प्रतीक हुन् । संसारका कतिपय यस्ता स्थानमा म पुगें, जहाँ मानिसले नेपाल सुनेका थिएनन् तर 'बुद्ध' र 'एभरेस्ट' को देश भन्नेबित्तिकै तिनको मुहारमा मुस्कान आयो ।
नेपालमा सदाझैं यस वर्ष पनि बुद्ध जयन्ती मनाइयो । औपचारिक समारोह भए, नेताहरूले भाषण दिए, पत्रपत्रिकामा बुद्धका विषयमा एक-दुई लेख
आए । त्यसपछि यो वर्षका लागि बुद्धको औपचारिक स्मरण सकियो । के यत्तिकैले पुग्छ ? साँच्चै भन्ने हो भने म यो विषयमा लेख्नै चाहन्नथेँ । गौतम बुद्धका विषयमा सतही कुरा लेख्न म चाहन्न, गहिरो लेख्ने मेरो ल्याकत छैन । कान्तिपुरकै एक सहकर्मीले कर-मिश्रीत सल्लाह नदिएको भए म यो विषयमा प्रवेश गर्ने थिइनँ । बुद्ध जयन्तीकै दिन, बौद्धनाथमा एक जना मित्र सुमन बज्राचार्य नभेटिएका भए पनि म यो सन्दर्भमा अक्षर कोरकार गर्ने थिइनँ ।
सुमनले मलाई शब्द नचपाई भने, 'बुद्धले हामीलाई सारा संसारमा चिनाए । हामीले बुद्धलाई आफ्नै देशमा के गर्यौं र ? हो, बुद्धमार्गी समुदायले परापूर्वकालदेखि यथाशक्य गर्दै आएका छन् । तर पछिल्ला दशकहरूमा बनेका सरकारहरूले बुद्धको नाममा के गरे ? यिनले कुनै चैत्य बनाए कि ? बगैंचा बनाए कि ? बुद्ध अध्ययन केन्द्रहरू खोले कि ? बुद्ध शिक्षाको प्रचारप्रसारमा सहयोग गरे कि ?
यस्ता ठूला कुरा त छाडिदेऔं, एक जना तिब्बती गुरुले केही वर्षअघि सुनको जलप लगाएर सहयोग नगरेको भए स्वयम्भूको चैत्य पनि आज खुइलिएकै देखिन्थ्यो । देशका कैयौं पुराना गुम्बा र चैत्यहरूको संरक्षणमा राज्यको योगदान आजसम्म के रह्यो ? मनकारी स्वदेशी र विदेशीहरूले दान नदिएको भए नेपालका गुम्बाहरूमा बस्ने हजारौं लामाको भरणपोषण कसरी हुन्थ्यो होला ? महेन्द्र राजाको पालामा सुरु भएको लुम्बिनी विकास योजनामा यतिका वर्षपछि नेपालले कति योगदान गर्यो ? मायादेवीको बगैंचा वरिपरि जे-जति विकास भएको छ, त्यसमा पनि स्वदेशी योगदानको प्रतिशत कति छ ?
नेपालको कुनै पनि सरकारी अधिकारी, ठूला साहु-महाजन वा गैरसरकारी बिकास पसलेहरू विदेश जाँदा गौतम बुद्धको फूर्ति लगाउन छुटाउँदैनन् । तर साँचो अर्थमा यिनको योगदानलाई जोड्यो भने अन्डा सिवाय केही बन्दैन । यी केही यस्ता तिखा यथार्थ हुन्, जसलाई कार्पेटमुनि लुकाएर, वैशाख पूणिर्माका दिन उही पुरानो भाषण गर्नुको कुनै तुक छैन । बुद्ध नेपालमा जन्मेका हुन् भनेरमात्र पुग्छ र ।
लुम्बिनी जाने बाटोको दुर्गति देख्नुभएको छ ? भैरहवा विमानस्थलको ट्वाइलेटको अवस्थाबारे भुक्तभोगी पर्यटक जुन शब्दमा बयान गर्छन्, त्यो सुनेर लाजले टाउको निहुर्याउनुपर्ने अवस्था छ । कपिलवस्तुमा तीर्थयात्री र पर्यटकलाई प्राप्त सुविधा अवस्था त्यतिकै कहालिलाग्दो छ । अनि 'आधा दिनमै लुम्बिनीबाट पर्यटक भारत फर्के' भनेर रोई-कराई गर्नुको के अर्थ भो र !
राजकुमार सिद्धार्थ जन्मेका लुम्बिनीमा हुन्, तर उनको जीवनबाट सारनाथ, बोधगया र कुशीनगरलाई हटाएर हेर्ने चेष्टा कसैले गर्यो भने कुनै पनि बौद्धमार्गी मुस्कुराउन सिवाय केही गर्न सक्दैन । भावनात्मक नाराबाजीका आफ्नै सीमा हुन्छन् । सत्यको कुनै सिमाना हुँदैन । सूर्य नेपालमा पूर्वबाट उदाउँछ । चीन, अमेरिका र भारतमा पनि सूर्योदय त्यही पूर्व दिशाबाटै उदय हुन्छ । भारतमा पर्ने सारनाथ, बोधगया र कुशीनगर पुगेको कसैले पनि देख्न सक्छ राज्य, निजी क्षेत्र र बौद्ध गुरुहरूको सहकार्यमा कुन स्तरको काम त्यहाँ भएको छ । श्रीलंका, जापान, थाइल्यान्ड, म्यानमार आदि देशका बौद्ध तीर्थमा भएको कामको त कुरै नगरौं । हामी पनि कमसेकम भारतकै बौद्ध तीर्थस्थलकै स्तरको बाटो बनाऔं, तीर्थयात्रीहरूलाई पर्यटकीय र अध्यात्मिक सुविधा उपलब्ध गराऔं । लुम्बिनीमा नेपालले त्यति मजासित गर्न सक्छ । त्यसो गरे 'आधा दिनमा पर्यटक लुम्बिनीबाट फर्के' भनेर कोरा रुवावासी गर्नुपर्ने छैन ।
२) गौतम बुद्धको जन्मस्थलका विषयमा भारत र अन्य देशमा जानेर वा नजानेर भ्रम थियो । कसैले अज्ञानतावश, कसैले हेलचेक्र्याइँका कारण र कसैले कुटिल नियतवश त्यो भ्रम फैलाएका थिए । आजको दिनमा शाक्यमुनिको जन्मस्थल लुम्बिनी नै हो भन्ने विश्वव्यापी स्विकारोक्ति प्राप्त भइसक्यो । 'बुद्ध वाज बर्न इन नेपाल' भन्ने सचेतना फैलाउन सहयोग गर्ने सबै जना स्तुत्य छन् । तर यति भनेरमात्र हाम्रो कर्तव्य सिद्धिँदैन, सुरु हुन्छ । कुनै पनि एउटै कुरालाई सधैंभरि समातेर बस्नु जडवत हुनु हो । २५ शताब्दीअघि नै शाक्यमुनिले बताए, 'जीवन र जगत हरेक क्षण परिवर्तनशील छ । अनित्यबोध यसको आधार हो ।'
यही कुरा आजभोलि भौतिक विज्ञानले पनि भन्न थाल्यो, 'पदार्थ हरेक क्षण गतिशील र परिवर्तनशील छ ।' हामी पनि गौतम बुद्ध नेपालमै जन्मिएका थिए भन्ने चेतना फैलाउँदै गरौं, तर त्यसैमा सीमित नबसौं । काम गर्ने बेलाचाहिँ साना-साना काम पनि नगर्ने अनि नाराबाजीचाहिँ ठूल्ठूला गर्ने बानीले हामीलाई कतै पुर्याउने छैन । त्यसो गरे विश्व समुदाय हाम्रो कुरा सुनेर गम्भीर हुने होइन, अपितु हाँस्नेमात्र छ । मानव इतिहासले गौतम बुद्ध र लुम्बिनीको जुन गौरवशाली धरोहर हामीलाई सुम्पेको छ, त्यसलाई समयानुकूल सुन्दर बनाउँदै लैजानु सबैको जिम्मेवारी हो ।
३) 'बुद्ध' शब्दका विषयमा धेरैलाई भ्रम छ । उनीहरू ठान्छन्, 'बुद्ध' कुनै मानिसको नाम हो ! बुद्ध कुनै मानिसको 'नाम' होइन, 'अवस्था' मात्र हो । महाराज शुद्धोधनका र महारानी मायादेवीका छोरा राजकुमार सिद्धार्थ गौतमले पूर्ण जाग्रत अवस्था प्राप्त गरेपछि उनलाई 'बुद्ध' भनियो । बुद्धत्व प्राप्त गरेपछि उनी 'बुद्ध' भए । बौद्ध धर्ममा बुद्ध शब्द, गौतम बुद्धका निम्तिमात्र आरक्षित छैन । जो कोही पनि साधनाद्वारा त्यो अवस्था प्राप्त गर्न सक्छ । यो अवस्थामा पुग्ने ढोका हरेक कोहीका निम्ति खुला छ । यो नै बौद्ध धर्मको महानता हो ।
४) बुद्ध शान्तिका प्रतीक हुन् तर गौतम बुद्ध शान्तिका 'मात्र' प्रतीक होइनन् । बुद्धको शान्ति कुनै खोक्रो, लाचार र मुर्दा शान्तिको प्रतीक होइन । मेरो बुझाइमा बुद्ध करुणाका पनि प्रतीक हुन् । युद्धमा हारेर बुद्ध शान्त भएका होइनन् । लड्न नसकेर बुद्ध शान्त भएका होइनन् । लडाइँको व्यर्थ र करुणाको महानता बोध गरेर बुद्ध शान्त भएका हुन् । करुणा बुद्धको 'बीउ' हो । शान्ति त्यसमा फुलेको 'फूल' हो । बीउ नभएको पनि बोट हुन्छ र ? प्लास्टिकको फूलको मात्र बीउ हुँदैन । नेपालका अनेक राजनीतिक, सामाजिक, आर्थिक अथवा प्राज्ञिक क्षेत्रमा भाषणबाजी अथवा गीतकविताका भाकामा जब 'शान्ति' शब्द प्रयोग गरिन्छ, मलाई हाँसो उठ्छ । बुद्धको शान्ति एक जीवन्त र स्वःस्फूर्त शान्ति हो । करुणाबाट निःसृत शान्ति हो । यो कुनै कागजी, शाब्दिक वा अलङ्कारिक शान्ति होइन ।
५) बुद्धका सम्बन्धमा ओशोको अमूल्य टिप्पणी छ, 'इतिहासमा जति-जति समय बित्दै जान्छ, पुराना पुराण र देवीदेवताका वचनको सार्थकता कम हुँदै जान्छ । तर २५ सय वर्षअघि बुद्धले जे भने, आज पनि त्यो त्यतिकै सार्थक छ । भोलि पनि रहनेछ । बुद्धले जीवनको जति सूक्ष्म विश्लेषण गरे, त्यो कसैले गर्न सकेन । उनले जीवनका समस्याको पौराणिक किताबबाट उत्तर नदिएर मौलिक विश्लेषणको आधारबाट समाधान दिए । बुद्धले कसैबाट आफूप्रति श्रद्धा र आस्थाको 'अगि्रम माग' पनि गरेनन् । 'मलाई मान अनिमात्र ज्ञान दिन्छु' भनेनन् । 'श्रद्धा गर्दिन' भन्दाभन्दै पनि अनगिन्ती मानिसहरू उनलाई श्रद्धा गर्न बाध्य भए । कसैका अगाडि शिर झुकाउँदिन भन्ने अनेक सम्राट बुद्धका चरणमा नतमस्तक भए । गौतम बुद्धको बगैंचामा जति फूल आजसम्म फुले, कुनै अर्को गुरुको बारीमा फुलेनन् ।'
६) लुम्बिनीमा बुद्ध जन्मेका थिए भन्ने सबैभन्दा सशक्त प्रमाणका रूपमा उभिएको छ, त्यहाँ रहेको 'अशोक स्तम्भ ।' भारतका चक्रवर्ती सम्राट अशोकद्वारा स्थापित स्तम्भमा पाली भाषामा त्यो कुरा लेखिएको छ । बुद्ध धर्म अंगीकार गर्नुअघि सम्राट अशोक एक क्रूर विजेता थिए । उनलाई 'चण्डाल अशोक' भनिन्थ्यो । कलिङ्गाको लडाइँ जित्न उनका सेनाले बगाएको रगतले नदी नै रातो भएपछि उनले जित्न बाँकी केही रहेन । त्यतिकैमा सम्राट अशोकलाई चुनौती दिँदै एक भिक्षुले भने, 'तिमी साँच्चै बहादुर हौ भने आफ्नो मनलाई जितेर देखाऊ । जबसम्म तिमी आफ्नो मन जित्न सक्दैनौ, तबसम्म तिम्रो हरेक जीत व्यर्थ हो ।' त्यसपछि सम्राट अशोकले बुद्ध धर्म अपनाए । बुद्ध वचनको प्रचारप्रसारमा बाँकी जीवन अर्पण गरे ।
बुद्धत्व प्राप्त गरेपछि सारनाथमा गौतम बुद्धले चार सूत्रीय उपदेश दिएका थिए । एक, जीवनमा दुःख छ । दुई, दुःख हुनाको कारण छ । तीन, दुःखबाट छुटकाराको उपाय छ । चार, दुःखबाट छुटकारा पाउन सकिन्छ ।
जब-जब म लुम्बिनी पुग्छु, सोच्छु गौतमका बुद्धका विषयमा । जसले आजसम्म असंख्य मानिसलाई नयाँ जीवन दियो, के हामी त्यो मानिसको जन्मस्थल, उसका उपदेश, उसका मूल्य र मान्यता, उसको आफ्नै जन्मभूमिलाई अलि बढी आदर दिन
सक्छौं कि ? हामीले बुद्धमाथि त्यति धेरै हक मागेपछि, अलिकति हक त उसको हामीमाथि पनि लाग्दो हो नि ! कि कसो ?
कान्तिपुर
शनिबार, २०७१ जेष्ठ ३
कान्तिपुर
शनिबार, २०७१ जेष्ठ ३

No comments:
Post a Comment