Wednesday, April 25, 2018

ओशोमाथि फेरि हमला !


विश्वचर्चित अध्यात्म गुरु ओशो रजनिशमाथि उनले देहत्याग गरेको करिब तीन दशकपछि पुनः ‘आक्रमण’ शुरु भएको छ । संयुक्त राज्य अमेरिकाको ओरेगनमा रजनिशले सञ्चालनमा ल्याएको कम्युन सन् १९८५ मा बन्द गराउँदै तात्कालिक अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन सरकारले रजनिशलाई प्रहरी नियन्त्रणमा लिई यातना दिएको र उनीमाथि अनेकौँ मुद्दा लगाइएको थियो ।
यस घटनापछि अमेरिका परित्याग गरेका ओशो रजनिश त्यसको केही समयपछि दिवङ्गत भएका थिए । ओशोलाई हिरासतमा नै मन्द विष दिइएको र भारतको पुना आश्रममा फर्किएपछि समेत उनलाई विष थपेर मृत्युसम्म पुऱ्याइएको विश्वास रजनिशका शिष्यहरूको छ । त्यसबेला विश्वमा रहेका पाँच सयभन्दा बढी कम्युन पनि बन्द गराइएको थियो र, यसरी रजनिशसँगै उनको अगुवाइमा खुलेका सबैजसो कम्युनलाई सिध्याइएपछि सम्बद्ध पक्षले सम्भवतः ओशोमार्गीहरू विश्वबाट नै ‘लोप’ हुने विश्वास गरेको हुँदो हो । तर, ‘भ्याटिकन’ले विश्वास या अनुमान गरेजस्तो स्थिति भएन, ओशोको निधनपश्चात् संसारमा ओशोमार्गीहरू द्रुतगतिमा फैलिए ।
नेपालस्थित ओशो तपोवनका संस्थापक एवम् ओशो सन्त स्वामी आनन्द अरुणले मात्र करिब एक लाख १५ हजारलाई दीक्षा दिइसक्नुभएको बताइन्छ । ओशो तपोवनमा विश्वका असी मुलुकका ओशो सन्न्यासीहरू एवम् ओशोप्रेमीहरूले निरन्तर सहभागिता जनाउने गरेका छन् । अमेरिका, जर्मनी र मलेसियालगायत विश्वको दर्जनौँ मुलुकमा ओशो गतिविधि बढ्न थालेपछि इसाईहरूको मूल धाम मानिने भ्याटिकन सिटीको विशेष सक्रियतामा हालै ६ शृङ्खला (एपिसोड) को सिनेमा निर्माण गरी ओशोको बदनाम गर्ने प्रयास भएको छ ।
‘वाइल्ड वाइल्ड कन्ट्री’ नाममा एक–एक घन्टाको ६ वटा शृङ्खलाको सिनेमा बनाएर सार्वजनिक गरिएपछि यतिबेला त्यसले विश्वमा तहल्का मच्चाएको छ । ओशोलाई बदनाम गर्ने मुख्य उद्देश्यबाट बनाइएको उक्त ‘डकुमेन्ट्री’ गत मार्चमा मात्र सार्वजनिक गरिएको भए पनि अहिलेसम्म सोह्र करोडभन्दा बढी मानिसले हेरिसकेको बताइन्छ । यसरी सिनेमामार्फत दिवङ्गत ओशो रजनिशमाथि आक्रमण गर्दै ओशोमार्गीहरूको तेजोबध गर्ने प्रयास भएपछि स्वामी आनन्द अरुणले त्यसको निन्दा गर्नुभएको छ ।
घटना र विचारसँग कुरा गर्दै उहाँले भन्नुभएको छ, ‘क्रिश्चियानिटीको संरक्षण गर्न भ्याटिकन जेसुकै गर्न तयार हुँदोरहेछ भन्ने यस घटनाले देखाएको छ ।’ उहाँले पुना आश्रमको क्रियाकलाप ओशो र ओशोमार्गीविरुद्ध केन्द्रित रहेको बताउँदै भन्नुभयो, ‘पुनास्थित भगवान्कै आश्रमलाई समेत कब्जामा लिएर ओशोमार्गीहरूलाई निरुत्साहित र अपमान गर्ने काम भइरहेको छ । सिनेमामार्फत भगवान्विरुद्ध यति ठूलो हमला हुँदा पनि पुनाको मौनताले उसलाई थप एक्स्पोज गरेको महसुस हामीले गरेका छौँ ।’
घटना र विचारसँगको करिब पचास मिनेट लामो भिडियो वार्ताका क्रममा स्वामी आनन्द अरुणले केही आश्चर्यजनक तथ्यहरूको खुलासा गर्नुभएको छ । आफ्नो पूर्वजन्मबारे स्पष्ट जानकारी पाएको बताउँदै देहत्यागपछि पनि ओशो रजनिशसँग संवाद हुने गरेको खुलासा उहाँले गर्नुभएको छ ।

हेर्नुहोस्- आश्चर्यजनक खुलासा गरिएको उक्त भिडियो संवाद…
ओशोमाथि फेरि हमला !


No comments:

Post a Comment

ओशोले सिकाएको जीवन

ओशो रजनीशको वास्तविक नाम चन्द्रमोहन जैन हो । उनी ११ डिसेम्बर १९३१ मा भारतको मध्यप्रदेशमा जन्मेका थिए । उनी दार्शनिकका रूपमा विश्वभर परिच...